बागमती


घुम्ती खाद्य प्रयोगशालाको पहिलो प्रयोग प्रसूति र नर्भिक अस्पतालका क्यान्टिनमा

घुम्ती खाद्य प्रयोगशालाको पहिलो प्रयोग प्रसूति र नर्भिक अस्पतालका क्यान्टिनमा

नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:१४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सहकार्य गरी बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालन गरिरहेको छ।

यसको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनमा गरिएको महानगरपालिकाले जनाएको छ। तर यसको नतिजा के कस्तो आयो भन्ने कुरा महानगरपालिकाले गराएको छैन। 

यसपछि अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्ने बताएको छ।

२४ भन्दा धेरै प्रकार परीक्षण गर्ने क्षमता रहेको घुम्ती प्रयोगशालाका उपकरणले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरी नतिजा देखाउन सक्ने बताइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेका अनुसार प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ। 

यस्तै दूधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दूधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएनएफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पीएच परीक्षण गर्न पीएच मिटर छन्।

संकलित खाद्य पदार्थ नमुनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमुना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छन्। नमुना खाद्य पदार्थ जाँच्न पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थका नमुनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ् आयल टेस्टर (टीपीएम मिटर) छन्।

तेल, घ्यूजस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इन्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफुल जुसमा टीएसएस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर  छ।

नमुना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ। हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ। खाद्य पदार्थको नमुना राख्ने रेफ्रिजेरेटर छ। उपकरणहरूसँग जोडेर काम गर्न सकिने ल्यापटप छ। यो प्रयोगशालामा एअर कन्डिसन र संकलित नमुनाका कणको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनिएक्टर छ।

खाद्य पदार्थ तताउने हट प्लेट छ। हात धुने तथा अन्य चिज पखाल्ने ठाउँ धारा र वेसिन छ। मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रंगको मिसावट तत्कालै थाहा पाउन सकिन्छ।

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउन काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सम्झौता गरेर यो प्रयोगशालाको भ्यानलाई अनुगमनमा प्रयोग गर्न थालिएको हो। अनुगमन निरीक्षणमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट तथा विज्ञसहितको संयुक्त टोली छ।

महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यस अघि पनि संकलन भएका खाद्य पदार्थको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। त्यसको नतिजा आउन बाँकी छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad