काठमाडौँ उपत्यकामा पनि अहिले (बुधबार बेलुकीपख) हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकाका कतैकतै हल्का वर्षा भइरहेको छ। साथै हावाहुरी पनि चलिरहेको छ।
‘अहिले काठमाडौँ उपत्यकामा पनि कतै कतै, सबै ठाउँमा होइन, मेघगर्जनसहित हल्का पानी परिरहेको अवस्था छ, साथै हावाको वेग पनि सामान्यभन्दा केही बढी छ’, उनले भने, ‘तर दुई/तीन घण्टापछि यो कम भएर जाने देखिन्छ।’
हावाहुरीका कारण त्रिभुवन विमानस्थलमा केही बेर उडान र अवतरणसमेत प्रभावित भएको थियो।
उनका अनुसार यतिबेला (बुधबार बेलुका साढे ७ बजे) बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि गड्याङगुडुङसहित हल्का वर्षा भइरहेको छ।
उनले भने, ‘विशेषगरी गण्डकी प्रदेशको पहाडी भूभाग लमजुङ, गोरखाआसपास, काठमाडौँको सिन्धुपाल्चोक, दोलखा आसपास क्षेत्र र कोसीको ओखलढुंगा आसपासको क्षेत्रमा २/३ घण्टायता वर्षा भएको देखिन्छ।’
मौसमविद् झाका अनुसार गण्डकी प्रदेशमा विकसित प्रणाली बागमती प्रदेश हुँदै पूर्व कोसी प्रदेश सर्ने क्रममा हावाहुरी र मेघगर्जनसहित वर्षा भएको हो।
उनले भने, ‘यो स्थानीय वायुबाट बनेको प्रणाली हो, यसको विशेषता नै एकछिन हावाहुरी र गड्याङगुडुङसहित वर्षा गराउने हुन्छ, तर पछि कमजोर हुँदै जान्छ।’
Shares

प्रतिक्रिया