बागमती


हेटौँडामा २४सै घण्टा खानेपानी, १० हजार लिटरसम्म निःशुल्क

हेटौँडामा २४सै घण्टा खानेपानी, १० हजार लिटरसम्म निःशुल्क

फाइल फोटो


नेपालखबर
माघ २३, २०८१ बुधबार १५:२४, काठमाडौँ

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ। बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब एक लाख ६५ हजार नगरवासीलाई २८ हजार एक सय १२ धारामार्फत दैनिक नौ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो।

बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिए। उनका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन्। नगर क्षेत्रभित्रको वडा नं ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आइरहेको उनले बताए।

हेटौँडा उपमहानगरले नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले विसं २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ। सोही कारणले १० हजार लिटरमात्र खानेपानी खपत गर्ने उपभोक्ता थप लाभान्वित भएका छन्। बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्युबवेल निर्माण सम्पन्न गरेको जनाएको छ।

मकवानपुरगढी गाउँपालिकामा तीन, भीमफेदी गाउँपालिकामा दुई र हेटौँडा–९ मा एक थान समवेल निर्माण निजी स्रोतमार्फत सम्पन्न भएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्टले जानकारी दिए। उनका अनुसार विभिन्न १२ स्थानमा पम्प तथा पालेघर निर्माण सम्पन्न भएको छ।

अध्यक्ष विष्टका अनुसार बोर्डले करिब चार सय किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरेको छ। सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब रु १५ करोडमा ‘ओभरहेड’ पानीट्याङ्की एक, भूमिगत पानीट्याङ्की तीन, ‘डिपबोरिङ’ चार, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए।

सङ्घीय सरकारको करिब रु आठ करोडको लगानीमा हेटौँडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्याङ्की, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणसम्बन्धी अधुरा रहेका योजना सम्पन्न गर्न बोर्डबाट रु तीन करोड लगानी गरी निर्माण सम्पन्नपश्चात् सेवा सञ्चालन भएरहेको छ।  

बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौँडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौँडा–१६ मा डिपट्युबवेल, त्रिशूलेमा पाँच लाख लिटर क्षमताको भूमिगत पानीट्याङ्की र करिब २० किमी प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरिएको बोर्डले जनाएको छ। हालसम्म बोर्डमा हेटौँडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित नौ हजार पाँच सय धारा हस्तान्तरण भइआएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad