दीपिका प्रसाई अभिनीत फिल्म ‘मायाबी’ फागुनको १४ गतेबाट रिलिज हुँदैछ। केही बर्षको अन्तरालपछि यस फिल्ममार्फत दीपिका ठूलो पर्दामा देखिन लागेकी हुन्। जसकारण उनका लागि यो फिल्म विशेष छ।
अझ यो फिल्मको सुटिङ ताका दीपिकाले आफू गर्भवती भएको थाहा पाएकी थिइन्। त्यस्तो अवस्थामा दुबैलाई रोजेर अघि बढेको उनको भनाइ छ।
‘यो प्रोजेक्ट मेरो ५ वर्षदेखिको सपना थियो। तर, यो प्रोजेक्ट सुरु भएपछि मात्र मैले गर्भवती भएको थाहा पाएँ। त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो। तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ। फिल्मको छायांकनका क्रममा निकै नै दुख पाएको थिएँ,’उनले भनिन्।
साथै उनले फिल्म छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको सुनाइन्। उनले सुटिङको अनुभव सुनाउँदै भनिन्, ‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब यो फिल्म म गर्न सक्दिनँ समेत भनेको थिएँ। अन्य नायिका लिनुहोस् फिल्ममा पनि भनेँ मैले। तर, मलाई उहाँले कथाको शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो। यसैले मैले यो फिल्म गर्नुपर्यो।’
जसकारण दीपिका ‘मायाबी’ आफ्नो दोस्रो सन्तान भन्न रुचाउँछिन्। दीपिकाले ‘मायाबी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन्। उनले, बाहिरी ब्यानरका वा घरका फिल्ममा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताइन्। अब, निरन्तर फिल्म क्षेत्रमा लाग्ने उनको योजना छ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।
Shares

प्रतिक्रिया