बागमती


अस्पतालको अध्यक्षमा कांग्रेस-एमाले भागबण्डा : मन्त्रीका श्रीमान‌्‌देखि पूर्वसांसदसम्म नियुक्त

अस्पतालको अध्यक्षमा कांग्रेस-एमाले भागबण्डा : मन्त्रीका श्रीमान‌्‌देखि पूर्वसांसदसम्म नियुक्त

प्रदेश सभाका पूर्वसदस्य शशिजंग थापा र मन्त्री हरिप्रभा खड्गीका श्रीमान् प्रकाश खड्गी


सुनिता विष्ट
पुस १४, २०८१ आइतबार १६:२६, हेटौंडा

प्रदेश संरचना राजनीतिक भागबण्डाको अखडा बन्न थालेको छ। संघीय तहकै बेथिति प्रदेशमा पनि देखिन थालेपछि त्यसैलाई देखाएर कतिपयले यो संरचना खारेज नै गर्नुपर्ने तर्क गरिरहेका छन्। त्यसैमा बल पुग्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरू अस्पतालमा समेत आफ्ना निकटस्थहरूलाई व्यवस्थापन गर्दै छन्।

बागमती प्रदेश मातहतका १२ अस्पतालमध्ये कांग्रेस र एमालेले ६/६ वटा अस्पताल विकास समितिको अध्यक्षमा भागबन्डा गरेका छन्। जसमा मन्त्रीका श्रीमान्‌देखि पूर्वसांसदसम्मले नियुक्ति लिएका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले आफ्ना श्रीमान्‌लाई टोखा चण्डेश्वरी अस्पताल काठमाडौँको अध्यक्ष नियुक्त गराउन सफल भइन्। मन्त्री खड्गीका श्रीमान् प्रकाश खड्गी उक्त अस्पतालको अध्यक्ष भए।

भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसदसमेत रहेका शशिजंग थापालाई नियुक्त गरिएको छ। प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ पहिलो संशोधन जारी भएपछि मंसिर २७ गते तथा पुस ८ र ९ गते ११ वटा अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो।

कांग्रेसले काठमाडौं, ललितपुर सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, रामेछाप, दोलखा र भक्तपुर लिने गरी सहमति भएको स्रोतको दाबी छ।

सो सहमति अनुसार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त भएका छन्। यसैगरी रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी नियुक्त भएका छन्। सिन्धुलीमा भने नियुक्त गर्न बाँकी छ।

यसैगरी एमालेको भागमा परेका चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल नियुक्त भएका छन्। यसैगरी रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे नियुक्त भएका छन्।

मन्त्रालयले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (पहिलो संशोधन) को दफा २६ (ख) उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्नगरी अध्यक्ष नियुक्त गरेको हो।

ऐनको दफा २६ (क) को उपदफा (९) बमोजिमको पदावधि कायम हुनेगरी दफा २६ (क) उपदफा (२) बमोजिम अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरिएको हो।

बागमती प्रदेशका हाल सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमाले छन्। प्रदेशका विभिन्न पदमा दलीय भागवण्डा लागू भएको छ।

प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै गृहजिल्लाका दीपक लामालाई नियुक्त गरे। युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राखेको नामको प्रस्ताव अस्वीकार गर्दै मुख्यमन्त्री लामाले आफ्नै गृहजिल्लाका लामालाई सदस्य सचिवमा नियुक्त गरेका थिए।

बागमती प्रदेश सीटीईभीटीको कार्यकारी निर्देशकमा पनि मुख्यमन्त्री लामाले उनकै गृहजिल्लाका शान्ति लामालाई नियुक्त गरे। यति मात्रै होइन, नुवाकोटमा रहेको त्रिशूली अस्पतालको अध्यक्षमा उपेन्द्र बुढाथोकी नियुक्त भएका छन्। उनी पनि मुख्यमन्त्री लामा निकटकै व्यक्ति हुन।

यता, दूग्ध विकास बोर्डको उपाध्यक्षको भाग एमालेलाई पर्यो। एमालेले चितवनका हरिप्रसाद पौडेललाई नियुक्त गर्‍यो। एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया निकटका पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गरिएको स्रोतको दाबी छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति र प्रदेश लोकसेवा आयोगको अध्यक्षको भाग पनि एमालेले नै पायो।

पछिल्लो समय बागमती प्रदेश सरकार दलीय भागबण्डामा लिप्त भएको भन्दै सर्वत्र आलोचना भैरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad