बागमती


घरबेटीसँग ‘दाइ हुँ’ भन्दै सरिताको डेरामा पसेका थिए विश्वास

पैसा र मोबाइलको लोभले हत्या गरेको आशंका
घरबेटीसँग ‘दाइ हुँ’ भन्दै सरिताको डेरामा पसेका थिए विश्वास

सुनिता विष्ट
पुस ४, २०८१ बिहिबार २२:१, हेटौंडा

धादिङको गजुरी गाउँपालिका–४ सारसिराङकी १७ वर्षीया सरिता तामाङलाई गाउँमै रहेको विद्यालयमा कक्षा ८ सम्मको पढाई पूरा गरेपछि बुवा दलबहादुरले काठमाडौं पठाए। आफ्ना छोराहरू पनि काठमाडौंमै रहेका कारण दलबहादुरले छोरी र ८ वर्षको कान्छो छोरालाई काठमाडौंमै पढ्न पठाएका थिए।

चन्द्रागिरी नगरपालिका–१० खरीबोटमा डेरा डेरा लिएर सानो भाइसँगै बस्थिन् सरिता। दाजुहरूको डेरा सरिता बस्ने डेराको घरभन्दा केही पर थियो।

हेरबिचारमा सजिलो हुने भन्दै नजिकै अर्को कोठा खोजेर छोरी र छोरालाई राखिदिएका थिए दलबहादुरले। सरिता नैकापमा रहेको विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा अध्ययनरत थिइन्। उनको सानो भाइ पनि सोही विद्यालयमा पढ्थे।

उनै सरिताको मंसिर २९ गते आफ्नै कोठामा बिभत्स हत्या भयो। र हत्या आरोपमा पक्राउ परेका छन् गाउँमा सँगै घर भएका २४ वर्षका विश्वास तामाङ।

गजुरी गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्र प्रजाका अनुसार गत मंसिर २३ गते दलबहादुर सरिता बस्ने डेरामा पुगेका थिए। छोराछोरीसँग फोनमा कुराकानी गर्न सजिलो हुन्छ भन्ने सोचेर उनले छोरीलाई रियलमी मोबाइल किनेर दिए। आफू नहुँदा खनखाँचो टार्न सजिलो होस् भन्ने सोचर २० हजार रुपैयाँ समेत छोडेर २५ गते मंगलबार दलबहादुर छोरालाई लिएर गजुरीस्थित गाउँको घर फर्किए।

‘त्यसपछि २८ गते शुक्रबार बेलुकासम्म सरिताले घरमा आमाबुवासँग कुराकानी गरेकी थिइन् रे,’ वडाध्यक्ष प्रजाले नेपालखबरसँग भने, ‘शनिबारको दिन साँझमा घरबाट फोन गर्दा सरिताको फोन लागेनछ। उनका बुबाले दाइहरुलाई खबर गरेपछि उनीहरूले प्रहरीमा हराएको भन्दै निवेदन दिएछन्। खोजी गर्ने क्रममा उनकै कोठाको खाटमुनी शव फेला पर्‍यो।’

सरिता हराउने बित्तिकै उनको परिवारको शंकाको सुई विश्वासतिरै तेर्सिएको थियो। हाल कलंकीको खड्कागाउँ बस्ने विश्वास र सरिताको फोनमा कुराकानी हुने गरेको सरिताका बुवा दलबहादुर लगाएत दाइहरूलाई पनि थाहा थियो।

वडाध्यक्ष प्रजाले थपे, ‘उनीहरूबीचमा पहिले पनि कुराकानी हुन्थ्यो रे। अलि समय अघि झगडा परेको पनि बुवालाई थाहा रहेछ। उनीहरूको मन परापर भएको थाहा भएका कारण सुरुमा त दुईजनाले बिहे गरे होलान् भन्ने शंका गरिएको थियो। तर यहाँ उनको हत्या नै भैसकेको रहेछ।’

सरिता मृत फेला परेको खबर पाएपछि परिवारसँगै आफूपनि उनीबस्ने डेरामा पुगेको बताउँदै वडाध्यक्ष प्रजाले सरिताको हत्या नै भएको बताए। र, हत्या गर्ने व्यक्ति विश्वास नै हुनसक्ने आशंका गरे।

सोहो आधारमा प्रहरीले विश्वासलाई प्रक्राउ गरेको हो।

‘बुवाले छोराछोरीको रासन खर्चको लागि भनेर २० हजार रुपैयाँ दिएर गएका रहेछन्। नयाँ मोबाइल पनि किन्दिएका थिए रे,’ वडाध्यक्ष प्रजाले भने, ‘हिजो हामीले उनको शव फेला परेपछि पैसा र मोबाइल खोज्यौं। तर फेला परेन। शंकास्पद् व्यक्तिकै साथबाट मोबाइल प्रहरीले बरामद गरेको छ। सायद, पैसा र मोबाइलकै लागि हत्या गर्यो कि भन्ने अनुमान परिवारको छ।’

त्यसोत मंसिर २९ गते शनिबारको दिन विश्वास सरिताको डेरामा आएको घरबेटीले देखेकी थिइन्। उनले को हो बावु? कस्लाई खोजेको? भनेर प्रश्न गर्दा विश्वासले आफू सरिताको काकाको छोरा भएको बताएर कोठामा पसेको घरबेटीले बताएको सरिताको पारिवारीक स्रोतले जानकारी दियो। बहिनीलाई भेट्न आएका होलान् भन्ने लागेर घरबेटीले त्यती चासो दिएनन्।

शनिबार साँझदेखि फोन नलागेपछि सरिताको खोजी सुरु भयो। सँगै बस्ने भाइ पनि बुवासँगै गाउँ गएका कारण के के भयो भन्ने कुराको परिवारले मेसो पाउन सकेनन्। प्रहरीले उनी बस्ने कोठाको खोजतलास गर्दा बेडमुनीबाट गलेर निलो भएको अवस्थामा सरिताको शव निकाल्यो।

उनको पारिवारीक स्रोतका अनुसार नाकबाट रगत बगेर सुकेको थियो। अनुहारमा पनि सानातिनो चोट जस्तै देखिन्थ्यो। शवको प्रकृति हेर्दा आत्माहत्या नभएर हत्या नै भएको हुनसक्ने प्रहरी र आफन्तको भनाई छ।

मृतक सरिताको शवको पोष्टमार्टम सकेर दाहसंस्कारका लागि धादिङकै गजुरी लगिएको वडाध्यक्ष प्रजाले बताए।

‘अब जे नहुनु भैसक्यो। दोषीलाई कारबाहीका लागि प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान हुँदै गर्ला’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad