ad ad

बागमती


हेटौंडाका दुई ठूला विद्यालय मर्ज गर्ने तयारी

हेटौंडाका दुई ठूला विद्यालय मर्ज गर्ने तयारी

सुनिता विष्ट
भदौ २८, २०८१ शुक्रबार १४:५०, मकवानपुर (हेटौंडा)

हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ। शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो। 

हेटौंडाको उपमहनगरपालिका–४ नम्बर वडामा रहेको यी दुई विद्यालयसँगै जोडिएको अवस्थामा छन्। धेरै विद्यार्थी रहेको यस विद्यालयहरू एकीकृत गरी शैक्षिक हबको रुपमा विकास गर्ने लक्ष्य राखेर यस विषयमा छलफल अघि बढाइएको हो। 

हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलले प्रदेशको राजधानी भएका कारण मेघा विद्यालय सञ्चालन गरी हेटौंडालाई शैक्षिक हब बनाउने गरी अगाडि बढ्न खोजेको बताउँछन्।

भुटनदेवी माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सिग्देलले देशकै नमुना विद्यालय बनाउने उदेश्यले मेघा विद्यालयको अवधारण ल्याइएको बताएका हुन्।

‘बागमती प्रदेशको राजधानी हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्ने उदेश्यले दुईवटा ठूला विद्यालयलाई एकीकृत गर्न लागेका हौँ,’ अध्यक्ष सिग्देलले भने, ‘सधैँ एउटै अवधारणाबाट पठनपाठन हुँदा शिक्षा क्षेत्रको विस्तार हुन सकेन। यहाँ सामुदायिक विद्यालयमा पढ्न चाहाने विद्यार्थीहरू पनि सिमित सिटका कारण पढ्न पाएका छैनन्। यसैलाई मध्यनजर गरेर मेघा विद्यालयको योजना अघि बढाएका हौँ।’

त्यसोत, हाल आधुनिक राष्ट्रिय माविमा करिब ३ हजार विद्यार्थी छन् भने भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन्। आधुनिक मावि विगत १५ वर्षदेखि देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू मध्ये एक हो।

भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ। दुवै उत्कृष्ट विद्यालयलाई एकीकृत गर्दा चुनौती पनि उत्तिकै रहेको भुटनदेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्द समिम खान बताउँछन्।

‘विद्यालयको व्यवस्थापन, शिक्षकहरूको व्यवस्थापन, विद्यार्थी तथा अभिवावकहरूको सन्तुष्टि लगायत थुप्रै बिषयमा ध्यान दिन पर्ने हुन्छ। यो चुनौतीपूर्ण त छ नै। तर यसलाई मूर्त रुप दिन सकियो भने देशकै नमुना विद्यालयको रुपमा स्थापीत गराउन भने सकिन्छ,’ अध्यक्ष खानले भने।

आधुनिक मावि र भुटनदेबी मावि व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिलगायत टोली केही दिनभित्रै बुटवलको कालिका माविको अवलोकनमा जाने तयारी समेत भएको छ। त्यस विद्यालयमा हाल करिब ९ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको खानको भनाइ छ।

यता, भुटनदेवी र आधुनिक एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने विषयमा हाल प्रारम्भिक छलफल चलेको हेटौंडा उपमहानगरपालिकाको तर्क छ। यो काम चुनौतीपूर्ण भए पनि दुबै विद्यालय एकीकृत गरी राम्रोसँग व्यवस्थापन गर्नसके नमुना विद्यालयको रुपमा परिचित गर्न सकिने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने बताउँछन्। 

दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता  बढ्ने, हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .