ad ad

बागमती


मुख्यमन्त्रीले पुरानो भन्दै भत्काउन निर्देशन दिएको भवनमा मन्त्री आलेको निवास

मुख्यमन्त्रीले पुरानो भन्दै भत्काउन निर्देशन दिएको भवनमा मन्त्री आलेको निवास

सुनिता विष्ट
जेठ २१, २०८१ सोमबार १५:३७, हेटाैँडा

बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री रमा आलेमगर गत १९ चैतमा बिनाविभागीय मन्त्री नियुक्त भइन्। ४२ दिनसम्म विभागीय जिम्मेवारी नपाएकी मन्त्री आलेमगरले मन्त्रालय टुक्राएपछि बल्लतल्ल जिम्मेवारी पाइन्।

नयाँ सत्तासमीकरण फेरिएसँगै राजनीतिक भागबण्डा मिलाउन बागमतीमा एक मन्त्रालय थपियो। ३ जेठ २०८१ मा बिनाविभागीय मन्त्री आलेमगरलाई जिम्मेवारी दिनका लागि सामाजिक विकास मन्त्रालय विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाइयो।

प्रदेशमा मन्त्रालय संख्या बढाइएकोप्रति आलोचना खेपिरहेको प्रदेश सरकारले आर्थिक भार भने कम गर्ने प्रयास गरेको बताएको थियो। भाडाको घरबाट सबै मन्त्रालयहरु सरकारी भवनमा सारिने नीति प्रदेश सरकारले लिएको लियो।

सोही अनुरुप प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय मासिक १ लाख १२ हजार घरभाडा तिर्नुपरेको भन्दै सरकारी भवनमा सर्‍यो। तत्कालिन १२ मन्त्रालयहरूमध्ये संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय मात्रै भाडाको घरमा थिए।

मन्त्री आलेमगरले खर्च कटौती गर्ने भन्दै भाडाको घरमा मन्त्रालय नबस्ने अडान कसिन्। त्यसको दुई/चार दिन मत्रालय कहाँ राख्ने भन्ने खोजीमै बित्यो। खाली रहेका सरकारी भवनको लिष्ट तयार गर्ने जिम्मा कर्मचारीहरूलाई दिइयो।

कर्मचारीहरूले प्रदेश खेलकुद विकास परिषद्को भवनमा केही कोठा खाली भएको जानकारी दिए। सोही अनुसार विभागीय जिम्मेवारी पाएको तीनदिनपछि अर्थात ६ जेठमा उनी पदस्थापित भइन्। उनको सरकारी भवनमै मन्त्रालय राख्ने इच्छा पूरा भयो।

यता, बिना विभागीय मन्त्री भैरहँदा उनका लागि निवासको व्यवस्थापन गरिएको थिएन। सोही कारण पनि जिम्मेवारी नपाउञ्जेलसम्म उनी प्रदेशको राजधानी नै बसिनन्। आफूसँग दिइएको सवारी चालक, पिएसओ लगाएतका व्यक्ति बस्ने ठाउँ नभएपछि हेटौंडा नफर्केको मन्त्री आलेमगरले गुनासो गरेकी थिइन्।

जब उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाइन्, तब उनको लागि निवासको पनि व्यवस्थापन भयो। तर मुख्यमन्त्रीले पूरानो भयो भनेर भत्काउन लगाएको निवास खेलकुद मन्त्री आलेमगरलाई सुम्पिइयो। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत वर्ष नै छोडेको निवासमा खेलकुद मन्त्री आलेमगर बस्दै आएकी छन्।

तत्कालीन वन कार्यालयको संरचना भत्काएर नयाँ निवास बनाउनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा डीपीआर समेत तयार भैसकेको छ। भवन पुरानो भयो भन्दै वन कार्यालयले बनाएको नयाँ भवनमा सरेका मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री आलेमगरका लागि भने सोही भवनमा निवास राख्न अनुमति दिएका छन्।

‘मलाई मुख्यमन्त्रीज्यूले तपाईंको निवासका लागि एउटा घर भाडामा लिनुपर्‍यो भनेर सोध्नुभएको थियो,’ मन्त्री आलेमगरले भनिन्, ‘तर मलाई टलक्क परेको भाडाको घरमा बस्न रहरै छैन। आफ्नो ऐसको लागि राज्यकोष नरित्याउँ भन्ने मनशायका कारण उहाँले छोड्नुभएको पुरानै निवासमा बसेकी हुँ।’

उनले थपिन्, ‘उहाँ (मुख्यान्त्री)ले यसमै बस्नोस् भन्नुभएको त होइन। तत्काललाई यो संरचना भत्काएर नयाँ नबनाइने कुरा भैरहेको रहेछ। त्यसैले यसो मर्मत गरेर बसेकी हुँ।’

भित्तामा लगाइएको वाल पेपरहरू कुहिएको अवस्थामा रहेको र त्यसलाई फेरेर केही मर्मत गरेपछि आफू बस्न थालेको मन्त्री आलेमगरले बताइन्।

मुख्यमन्त्री जम्मकट्टेल भने सो निवास छोडेपछि गतवर्ष जिल्ला वन कार्यालय मकवानपुरले बनाएको नयाँ भवनमा सरेका हुन्। वन कार्यालय भने जीर्ण भवनमै सञ्चालित छ। प्रदेश सरकारले केही महिनाको लागि भवन माग गरेको कारण प्रयोग गर्न दिइएको वन कार्यालयका कर्मचारी बताउँछन्।

यद्यपि, यसअघि बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डेको निवास भने हालका मुख्यमन्त्री जम्कट्टेलले पुरानो भनेर छाडेको र मन्त्री आलेमगर बस्न थालेको भवनमै थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .