पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार उपत्यकाको मौसम अहिले आंशिक बदली (आधाजति आकाशमा बादल) भएको छ।
त्यसैगरी अहिले काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ।
‘अहिले भिजिबिलिटी (पारदर्शिता) २ हजार मिटर मात्र छ’, उनले भनिन्, ‘घाम अलि माथि नआइपुग्दासम्म भिजिबिलिटी अझ घट्ने सम्भावना पनि छ, तर घाम माथि आएपछि हुस्सु हटेर जाने सम्भावना छ।’
मौसमविद् मानन्धरका अनुसार आज मौसम बदली हुने भएकाले दिउँसो राम्रोसँग घाम लाग्ने सम्भावना कम देखिएको छ। ‘आज उपत्यकामा वर्षा हुने सम्भावना भने कमै छ’, उनले भनिन्, ‘भयो भने छिटपुट वर्षा हुनसक्छ।’
यसैबीच मौसम बदली भएसँगै काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम केही बढेको छ।
अहिले बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा उक्लिएको मौसमविद् मानन्धरले जानकारी दिइन्। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला अहिलेको जत्तिकै रहन पनि सक्छ भने थोरै घट्ने सम्भावना पनि हुन्छ।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने दिउँसो बादल लाग्यो भनेचाहिँ अधिकतम तापक्रम घट्छ।
सोमबार उपत्यकाको अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस थियो। आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् मानन्धरको भनाइ छ।
Shares
प्रतिक्रिया