ad ad

बागमती


राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा तयारी तीव्र

राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा तयारी तीव्र

नेपालखबर
माघ ९, २०८० मंगलबार १९:४१, हेटाैँडा

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा तयारी तीव्र पारिएको छ। बिहीवार हुने निर्वाचनको तयारी भैरहेको निर्वाचन अधिकृतको कार्यालय बागमतीले जनाएको छ।

प्रदेशमा दुई मतदान केन्द्र तोकिएको छ भने ३ सय ७० प्रहरी खटाइने भएको छ। हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ। सो मतदान स्थलमा २ वटा मतदान केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।

मतदान स्थलको अनुगमन गरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापकीय काम गरिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्र र मतपत्र समेत छुट्टै हुने गरी बुथको व्यवस्थापन गरिएको निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिए।

उनका अनुसार एक मतदान केन्द्रमा ४ वटा गरी कुल ८ वटा बुथको व्यवस्था गरिने छ। यस्तै, मतदान अधिकृत समेत तोकिएको छ भने मतदान स्थल व्यवस्थापनका लागि एउटा बुथमा १० जना गरी कुल २० जना कर्मचारीको व्यवस्था गरिने छ।

निर्वाचनका लागि आयोगबाट कुल ४३० वटा मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत सञ्जेलले बताए। बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २९० र प्रदेशसभा सदस्यका लागि १४० वटा मतपत्र प्राप्त भएको उनले जानकारी दिए।

आयोगले निर्वाचनमा लागि २ वटा फरक मतपत्रको व्यवस्था गरेको छ। जसअनुसार प्रदेशसभा सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छ। यस्तै, पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।

बागमती प्रदेशका प्रदेशसभाका ११० सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख २३७ गरी कुल ३४७ जना मतदाता छन्।

४ सिटका लागि १५ जना मैदानमा
देशभर १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा भने ४ सिटका लागि निर्वाचन हुँदैछ। ६ राजनीतिक दलहरुबाट १५ जना चुनावी मैदानमा उत्रेका छन्।

कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजालले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट रोचकुमारी चौलागाईं, विवेक देवकोटा, ध्रुव विश्वकर्मा र त्रिलोचन निर्मल पौडेल चुनावी मैदानमा छन्।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवालले उम्मेदवारी दिएका छन्।

राष्ट्रियसभा सदस्य पदको बागमतीको ४ सिटका लागि राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .