समाज


सहायक हवल्दार विष्णुप्रसाद न्यौपाने सशस्त्र प्रहरी ‘वर्ष जवान-२०८०’ घोषित

सहायक हवल्दार विष्णुप्रसाद न्यौपाने सशस्त्र प्रहरी ‘वर्ष जवान-२०८०’ घोषित

नेपालखबर
माघ ९, २०८० मंगलबार १९:५०, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुप्रसाद न्यौपाने ‘वर्ष जवान-२०८०’ घोषित भएका छन्। 

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आज आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस-२०८०’ का अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरे।

कार्यक्रममा सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका एकाइबाट यस वर्ष सर्वोत्कृष्ट एकाइ हुन सफल सशस्त्र प्रहरी बलअन्तर्गत विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर १९ बङ्गलामुखी (विशेष कार्यदल) गण काठमाडौँ र नम्बर ३ म्याग्लुङ गुल्म तेह्रथुमलाई ‘रनिङ अवार्ड’ प्रदान गरिएको छ। 

महानिरीक्षक अर्यालले सङ्गठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनीय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल, नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ‘एपिएफ सम्मान’ प्रदान गरे।

उनले सङ्गठनलाई अनुकरणीय योगदान पुर्‍याउने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका साथै देशभरका सशस्त्र प्रहरी एकाइमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई कदरपत्रसहित ‘आइजी एपिएफ निशान’ प्रदान गरे।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हलचोकमा रहेको अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

उनले व्यावसायिकता, इमान्दारिता र बफादारितालाई मूलमन्त्र बनाउँदै सङ्गठनमा रहेको प्रणाली र पद्धतिलाई आत्मसात् गर्दै ‘चेन अफ कमाण्ड’मा रही सङ्गठनलाई स्थापित गर्ने कार्यमा लाग्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए।

'राष्ट्रले जिते हामी सबैले जित्छौँ भन्ने मर्मलाई ध्यानमा राखी सबैले कर्तव्य निर्वाह गर्नुपर्छ। गर्न नसकिने भन्ने केही छैन, हामी गर्छौं, म गर्छु भन्ने प्रतिबद्धता हामी सबैमा आउनु आवश्यक छ', उनले भने। 

कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा अक्षय कोष खडा गरी सोबापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष एक जनालाई वार्षिक रु २५ हजार राशिको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणाअनुरुप यस वर्ष उक्त अवार्ड सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईलाई प्रदान गरिएको थियो।

सो अवसरमा कर्तव्य पालनाको सिलसिलमा शारीरिक रुपमा अङ्गभङ्ग भई अशक्त अवस्थामा रहेका ६ जनालाई एक तह विशेष बढुवा गरिएको छ। यस्तै वार्षिक चाँदमारी प्रतियोगितामा उत्कृष्ट भएका चार जना सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक आयोजना गरेको ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिता’ मा उत्कृष्ट १० स्थान हासिल गर्न सफल कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad