ad ad

बागमती


बागमतीमा पनि पर्न सक्छ कोशीको साइड इफेक्ट?

कांग्रेसभित्र असन्तुष्टिको चाङ
बागमतीमा पनि पर्न सक्छ कोशीको साइड इफेक्ट?

सुनिता विष्ट
असोज २९, २०८० सोमबार २१:२६, हेटौंडा

केन्द्रको निर्णयलाई नै लत्याएर कोशीमा कांग्रेस सांसदहरूले गरेको निर्णयपछि उथलपुथल भएको राजनीतिको प्रभाव अन्य प्रदेशमा के होला? भन्ने चासो यतिबेला सर्वत्र छ। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शेखर कोइराला पक्षीय नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएसँगै अन्य प्रदेशको सत्ता समीकरणबारे चर्चा सुरु भएको हो।

कोशीको परिदृश्यले अन्य प्रदेशमा पनि यसैगरी सरकार निर्माणको बाटो खुल्नसक्ने विश्लेषकहरू बताउन थालेका छन्। मकवानपुरका राजनीतिक विश्लेषक प्रा. भोजराज ढकाल कोशीबाट एमाले प्रवेश गरेसँगै अन्य प्रदेशमा पनि त्यो सम्भावना बढेको बताउँछन्।

अहिले माओवादी–कांग्रेस र एकीकृत समाजवादी मिलेर बनेका प्रदेश सरकारहरू कोशीकै मोडलमा पुग्नसक्ने उनको भनाइ छ। 

११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। यहाँ कांग्रेसको ३७ सिट छ। तर पनि २१ सिट सहित तेस्रो स्थानमा रहेको माओवादीको नेतृत्वमा सरकार छ।

सरकार गठन भएदेखि नै कांग्रेसका केही सांसदहरू असन्तुष्ट छन्। संसदीय दलको नेत ाचयन गर्ने बेलामा नै नुवाकोटका बहादुर सिंह लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीचको तिक्तताले पनि त्यसलाई पुष्टि गर्न सहयोग गरेको छ। 

सहमति जुट्न नसक्दा दलको नेता चयन गर्न गत १३ पुसमा निर्वाचन नै गर्नुपरेको थियो। 

यतिबेला बानियाँको पक्षमा १६ मत आएको थियो भने लामा २१ मतसहित विजयी भए।

एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै बागमतीमा कांग्रेसले सत्ता प्रवेश गरेको थियो। 

कांग्रेस अहिले पनि सरकारमै छ। तर कांग्रेसकै देउवा पक्षकै सांसदहरू पनि सरकारसँग असन्तुष्ट रहेको थुप्रै उदाहरणहरु बाहिरिरहेका छन्। यसको बलियो उदाहरण हो, कांग्रेसका सचेतक कुन्दनराज काफ्लेले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनू।

त्यसोत, संसदीय दलको नेता बहादुर सिंह लामा भएपनि कांग्रेसको हरेक निर्णयको रिमोट इन्द्रबहादुर बानियाँको हातमा रहेको कांग्रेका एक सांसदले बताउँछन्।

‘सरकार भनेर मात्रै हुँदैन, चलाउन पनि जान्नुपर्छ,’ ती सांसदले नेपालखबरसँग भने, ‘इन्द्रदाई नै संसदीय दलको नेता बनाउन पाएको भए सरकार लामो समय जान्थ्यो होला। यहाँ पनि कोशीको जस्तैगरी नयाँ सरकार गठन गर्न कुनै आपत्ती छैन। अहिले हामी भित्रै पनि अनेक कुराको असहमति छ।’ 

ती सांसदको भनाइलाई आधार मान्ने हो भने अहिले पनि डेढ दर्जन बढी सांसदहरू सरकारप्रति असन्तुष्ट छन्।

त्यसोत, बानियाँ र उनी निकटका सांसदहरूले कांग्रेसभित्र पनि आफूहरू प्रतिपक्षकै भूमिकामारहेको सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन्। 

बागमतीका कांग्रस सांसद बानियाँ राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउँछन्।

‘अहिले एमाले, कांग्रेस र माओवादी सहितको सरकार निर्माण गर्न जरुरी देखिन्छ। राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ,’ बानियाँले नेपालखबरसँग भने, ग भने, ‘गणतन्त्रको चुनौती छ। बागमतीमा पनि त्यस्तो अवस्था आयो भने सहमतीको सरकार बनाउन जरुरी देखिन्छ। नेतृत्व कस्को हुन्छ भन्ने अर्को विषय हो।’

अहिले बागमतीको अवस्था हेर्दा कोशीको जस्तो अवस्था नआएपनि त्यही लाइनमा लाने स्थिति भने भएको उनी बताउँछन्। 

‘कोशीको विषय अर्कै हो। त्यहाँ मध्यावधिमा जाने स्थिति आइसकेको थियो। जसलाई एमालेले बचायो। तर बागमतीमा अहिले कांग्रेस र माओवादी दुवैले समर्थन फिर्ता लिने अवस्था भने बनिसकेको छैन।’

त्यसोत, हाल प्रदेशमा शेखर कोइराला पक्षमा एक जना सांसदमात्रै खुलेका छन्। अन्यले भने खुलेर लागेका छैनन्। तर बागमतीमा लामा र बानियाँ गुटको रुपमा सांसदहरुको दुई कित्तामा बाँडिएका छन्। 

जसमा २० जनाभन्दा बढी सांसद बानियाँको कित्तामा रहेको बताइन्छ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ। यस्तै एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

तथापी, सरकारमै रहेको कांग्रेसले कोशीमा जसरी नै विद्रोहमा उत्रियो भने पनि राप्रपाको समर्थनविनासरकारको लागि बहुमत पुग्ने अवस्था रहँदैन।

बागमतीमा सरकारको बहुमतको लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .