ad ad

बागमती


उपमेयर बन्ने ठूलो इच्छा थियो, तर टिकट नपाउँदा बनिन् मन्त्री

राजनीतिकै लागि बिहे नगरेकी सुकमायाको संघर्ष
उपमेयर बन्ने ठूलो इच्छा थियो, तर टिकट नपाउँदा बनिन् मन्त्री

बागमती प्रदेशकी नवनियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ


सुनिता विष्ट
साउन १०, २०८१ बिहिबार १०:५, हेटौँडा

राजनीतिमा लागेका व्यक्तिका आआफ्नै दु:ख हुन्छन्। संघर्ष, त्याग र योगदान हुन्छन्। त्यसैको मूल्यांकन हुँदा उनीहरूले विभिन्न अवसर पाउँछन्। 

यसकै एक उदाहरण हुन्- बागमती प्रदेशमा नवनियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ। 

२०३२ सालमा सर्लाहीमा जन्मिएकी सुकमाया ४ वर्षको हुँदा उनको परिवार सिन्धुलीको दुधौली भन्ने ठाउँमा बसाइँ सर्‍यो।

सुकमायाको प्रारम्भिक शिक्षा दुधौलीमै सुरु भयो। पढ्दापढ्दै १६ वर्षकै उमेरमा उनी राजनीतिमा होमिइन्।

२०४६ सालमा कक्षा ७ मा पढ्दै गरेकी सुकमायालाई राजनीतिको नशा लाग्यो। विद्यार्थीकालबाटै कम्युनिस्ट राजनीतिमा लागेकी उनले त्यसलाई निरन्तरता दिइन्। 

१६ वर्षकै उमेरमा राजनीतिक लडाइँमा होमिएकी सुकुमायालाई अहिलेजस्तो सजिलो थिएन। किनकि त्यतिबेला छोरी मान्छे कमैले मात्र पार्टीको झण्डा बोक्थे। नत्र महिलाहरू भोट हाल्नमा मात्रै सीमित हुन्थे। 

तर पनि सुकुमायाले त्यस्ता थुप्रै कठिनाइसँग जुध्दै सक्रिय राजनीतिलाई अघि बढाइरहिन्। 

‘ऊबेला (महिलाले) कहाँ अहिलेजस्तो खुलेर राजनीतिमा हिँड्न पाइन्थ्यो र’, ती दिन स्मरण गर्दै उनले भनिन्, ‘बाउआमाको डर एकातिर, गाउँभरिका आमा-काकीहरूले कुरा काट्ने अर्कातिर। महिला भएर राजनीतिमा लाग्ने हो र! घरको काम सिक्ने। राम्रो केटा पाए घरजम गर्ने भनेर मेरो बुवालाई भन्न आउनेको त लर्को नै लाग्थ्यो। तर खुसीको कुरा के भने मेरो परिवारले मलाई विश्वास गर्थे।’

उमेर २३/२४ वर्ष थियो। घरमा एक हुल मानिस आए। सगुन लिएर आएका उनीहरू सुकमायाको हात माग्न आएका रहेछन्। लगभग सबै कुरामा दुई पक्षबीच सहमति भयो। तर अन्तिममा सुकमायाको एउटा अडानले बिहे रोकियो। 

केटाले सोधे- के काम गर्छौ?

सुकमायाले जवाफ दिइन्- राजनीति गर्छु।

केटाले स्वर अलि रुखो बनाउँदै भने- विवाहपछि राजनीति छाड्न सक्छ्यौ त? मलाई यो राजनीति गर्ने केटी मनै पर्दैन!

सुकमायाले पनि रिसाउँदै जवाफ दिइन्- मन पर्दैन भने उठेर जान सक्नुहुन्छ। बरु विवाह गर्दिनँ, तर राजनीति छाड्दिनँ। 

यसपछि ती केटा र उनका आफन्त सुकमायाको घरबाट हिँडेको उनी सुनाउँछिन्। 

अब उनलाई लाग्यो- बिहे गरियो भने त राजनीतिक यात्रा समाप्त हुने रहेछ! आखिर सबै केटा यस्तै त होलान्। 

त्यसपछि सुकमायाले विवाह गर्ने विचार नै त्यागिन्, राजनीतिमै आफ्नो जीवन समर्पित गर्ने सोच बनाइन्। 

अहिले पनि विवाह नगरेर ठीकै गरेछु जस्तो लाग्ने गरेको उनी बताउँछन्। 

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी सुकमायाले १४ वर्ष जनसांस्कृतिक मञ्चमा बिताइन्। जनकालाकारको भूमिकामा रहेकी उनी सिन्धुलीको गहना भनेर समेत चिनिन्छिन्।

यसबीच उनले विभिन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार जिताउन ठूलो भूमिका खेलिन्। 

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीको दुधौली नगरपालिकाको उपमेयर बन्न सुकमायाले निकै रहर गरेकी थिइन्।

तर दनुवार समुदायको बाहुल्य रहेको उक्त पालिकामा तामाङ उम्मेदवारले नजित्ने देखिएपछि टिकट पाइनन्।

‘उपमेयर बन्ने धेरै इच्छा थियो, तर पार्टीले जित्ने सम्भावना भएका व्यक्तिलाई पठाएपछि म ब्याक हुनपर्‍यो,’ उनले भनिन्।

त्यसपछि २०७९ कै मंसिरमा भएको आम निर्वाचनका लागि पार्टीले सुकमायाको नाम समानुपातिक सांसदको पहिलो नम्बरमा राख्यो।

पार्टीलाई दिएको योगदानको कदर गर्दै एमालेले उनलाई प्रदेश सांसद बन्ने अवसर दियो। यति मात्रै होइन, ५ दशक कटेकी सुकमायालाई अहिले मन्त्री पनि बनायो। 

बुधबार प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा नियुक्त सुकमायाले आफ्नो क्षेत्र, भूगोल तथा जातका लागि मात्र होइन, समग्र बागमती प्रदेशकै विकास र महिला अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .