ad ad

बागमती


भौतिक निर्माणमा मन्त्रीको निरीक्षण : समयमै काम पूरा नगरे ठेक्का तोड्ने चेतावनी

भौतिक निर्माणमा मन्त्रीको निरीक्षण : समयमै काम पूरा नगरे ठेक्का तोड्ने चेतावनी

तस्बिर : मन्त्री दुलालका स्वकिय सचिव दिपक न्यौपानेको फेसबुकबाट।


सुनिता विष्ट
माघ २५, २०७९ बुधबार १३:२१, हेटाैंडा

बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोडेर नयाँ ठेक्कामा काम सुरु गर्ने तयारी गरिएको छ।

जसका लागि मकवानपुरका पुल निर्माणको रुग्ण आयोजनाको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले निरीक्षण गरेका छन्।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोल र लालझाडी जोड्ने पुल अनी मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको हालको अवस्थाका विषयमा मन्त्री दुलालले निरीक्षण गरेका हुन्।

धेरै समय अगाडी ठेक्का लगाए पनि निर्माण व्यावसायीका कारण पुल निर्माणले गति लिन नसकेपछी मन्त्रीको नेतृत्वमा सचिव र सम्बन्धित कार्यालयका प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो।

पुल निर्माणको काम तिब्र गतिमा नगरे ठेक्का तोड्ने मन्त्री दुलालको तयारी छ। 

२०७३ सालमा तत्कालिन जिल्ला विकास समितिले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निमाण गर्न लागिएको पुल हालसम्म पनि निर्माणको कामले गति लिन नसकेपछी ठेक्का तोडेर फेरी ठेक्का लगाउने मन्त्री दुलालले बताए। 

२०७३ साल पुस ११ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभिलाई ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का दिएको थियो। 

सम्झौता अवधि सकिएको ५ वर्ष भइसकेको छ।

तर, अहिलेसम्म पिल्लर उठाउने भन्दा अरु निर्माण भएको छैन।

यसैगरी हेटौंडा उपमहनगरपालिकाको वडा न १ मा वर्षौदेखि महाकालको रुपमा रहेको तुइन विस्थापित गरेर पक्कि पुल निर्माण गर्न २ वर्ष अघि दिइएको ठेक्का अन्तरगत हालसम्म एउटा खाल्डो खन्नु बाहेक काम भएको छैन। पुल निर्माण गर्ने भनेपछि तुइन त विस्थापित गरियो तर पुल बनेन। अहिले स्थानीयहरु समस्या झेल्दै आएका छन्।

हेटौंडा उपमहानगरपालिकाको लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणमा ढीलाइ हुँदा स्थानीयहरुले दबाब सुरु गरेका छन्। 

उपमहानगरपालिका १ स्थित लालकाडी र चौकीटोल जोड़ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति,सिद्धार्थ शिवम जे भी मकवानपुरसंग ठेक्का सम्झौता गरेको थियो।

२०८० जेठ १७ मा कार्य सम्पन्न गर्ने गरी २०७३ जेठ १८ गते भएको सम्झौता अनुसार काम नहुदा स्थानीयहरु मारमा परेका छन्।

पुल निर्माणका लागि ८ करोड ४७ लाखमा भएको सम्झौता भएको थियो। ठेकदार कम्पनीले सम्झौता अनुसारको झण्डै ४० लाख बजेट बुझिसकेको छ तर काम अघि बढ्न सकेको छैन।

२० महिना बितिसक्दा हालसम्म कामको सुरुवातको नाममा एउटा खाल्डो खनिएको छ। पुल निर्माण हुने भएपछि स्थानीयहरुले छोड्नु पर्ने जमिन छाडिसकेका छन्।

निरीक्षणपछी काम तिब्र गतिमा अगाडि नबढाए ठेक्का तोडेर अर्को ठेक्का लगाउने तयारीमा रहेको मन्त्री दुलालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .