ad ad

बागमती


काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार/व्यवसाय सञ्चालन गर्न नदिने

काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार/व्यवसाय सञ्चालन गर्न नदिने

नेपालखबर
असार २३, २०७९ बिहिबार १२:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको बताएको छ। 

महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्य लगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने महानगरले जनाएको छ।

महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।

सापकोटा भन्छन्,  'सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो।'

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण गराए।

महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ।

'महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो', सापकोटाले भने।
 
काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए। 

अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाइ छ।

फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए। 

'सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो,आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ', उनी बताउँछन्।

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए।

सडक किनारामा मकै पोलेर बिक्री गर्दै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .