नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)को आयोजना तथा नेसनल रोड सेफ्टी एलायन्स नेपालको संयोजनमा रोड सेफ्टी तथा सस्टेनेबल मोबिलिटी सम्बन्धि उच्चस्तरिय अन्तर्क्रिया कार्यक्रम गत बिहीबार समपन्न भएको छ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा सडक सुरक्षाका लागि राष्ट्रसंघीय विशेष दूत तथा एफआईएका अध्यक्ष जिन टोड्ट, वल्र्ड बैँकका उपाध्यक्ष हार्टविग शाफरले कार्यक्रमलाई सम्बोधन गरेका थिए। त्यस्तै, वक्ताका रुपमा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, विकास तथा प्रविधि समिति सदस्य रंगमती शाही थिए।
कार्यक्रममा विशिष्ट अथितिको रुपमा यूएन रेसिडेन्टियल कोअर्डिनेटर भ्यालेरी जुलियान्ड, वल्र्ड बैँक नेपालका कन्ट्री म्यानेजर फारिस एच हादाद जर्भोस, नेपालका लागि फ्रान्सका राजदुत फंस्वा जाभिए लेजे लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरुले नेपालमा सडक सुरक्षाको एक दशक शीर्षकको प्रतिवेदन सार्वजनिक गरे।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नासा फाउण्डेसनकी सदस्य भगबती सेढाईको नेपालमा सडक सुरक्षा शीर्षकको प्रस्तुति गरेकी थिइन्। कार्यक्रममा रोड सेफ्टी अवार्ड २०७५ समेत प्रदान गरिएको थियो।
त्यस्तै, काठमाडौँ र अमेरिकामा भएको सडक दुर्घटनामा आफ्ना दुई छोरा गुमाएको परिवार द्वारा स्थापित लक्ष्मी प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी गौतमलाई रोड सेफ्टी अवार्ड २०७५ प्रदान गरिएको नासाले जनाएको छ।
नासा फाउन्डेसनको तर्फबाट गोविन्द भट्टराईको स्वागतमन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन नेसनल रोड सेफ्टी एलायन्स नेपालका सदस्य ई.कपील आचार्यले गरेका थिए।
Shares

प्रतिक्रिया