डब्लुआरडब्लुआर अर्थात् विमेन राइडर्स वर्ल्ड रिले नेपालमा आइपुगेको छ। बेलायतबाट प्रारम्भ भएको सो रिले गत जुलाई १४ मा सुनौली हुँदै नेपाल भित्रिएको हो।
भारतीय महिला बाइक राइडरहरुले आफूसँग लिएको बेटन लुम्बिनीमा एक कार्यक्रमका बीच नेपाली महिला राइडरलाई हस्तान्तरण गरे। नेपालको लेगमा हिमालयन जिप्सिजका राइडर अमान्दा लुइस ग्रेगोरी र राइडर्स युनिफाइड/फोर तथा हिमालयन जिप्सिजकी राइडर मेरिना श्रेष्ठ सहभागी छन्। नेपाल लेगका लागि मेरिना र अमान्दा एम्बेसडर हुन्। उनीहरुलाई अष्ट्रेलियाकी राइडर कोलेटल र स्पेनकी राइडर मारले समेत साथ दिएका छन्।

टिम नेपाल पहिलो दिन चितवन र दोस्रो दिन लहान पुगेका छन्। उनीहरु इटहरी हुँदै अन्तिम स्टपको रुपमा काकडभिट्टा पुग्ने छन्। उत्तर पूर्वी भारतका लेडी राइडरहरुले त्यसपछि बेटन प्राप्त गरी बंगलादेश सिमानामा पुग्ने छन्। नेपाली टिमका लागि हार्ट एन्ड टियर्स तथा ¥यापिड रनर्सले नगद तथा ब्याकअप भेइकल प्रायोजन गरेको छ भने फोर नेपालले राइड सहयोग गरेको छ।

डब्लुआरडब्लुआरको शुरुवात गत वर्षको अगस्ट महिनादेखि हेले बेलले गरेका हुन्। मोटरस्पोर्टमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि यसको स्थापना गरिएको थियो। यसलाई इतिहासकै सबैभन्दा ठूलो मोटरबाइक रिले भनिन्छ।
गत अगस्टयता सो रिले करिव १ सय देशमा पुगेर १५ हजार भन्दा बढी महिलाहरुलाई प्रोत्साहित गरिसकेको छ । हाल सो रिलेमा सक्रियतापूर्वक भाग लिनका लागि करिब २ सय महिलाहरुले अनुरोध गरिसकेका छन् र हाल यो बढ्दो क्रममा रहेको छ।

डब्लुआरडब्लुआर कम्युनिटीले नेपालमा भइरहेको यो रिलेका लागि सहयोग गरिरहेको छ।

प्रतिक्रिया