अटो


अटो व्यवसाय जोगाउन सरकारलाई नाडाका यस्ता सुझाव

अटो व्यवसाय जोगाउन सरकारलाई नाडाका यस्ता सुझाव

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ७:५०,

नाडा अटोमोबाइल्स एसोसिएसन्स अफ नेपालले विश्व महामारी कोरोनाका कारण लागू गरिएको लकडाउनले अटो क्षेत्र र यसमा आबद्ध व्यवसायीलाई मारमा पारेको जनाएको छ।

यसले अटो व्यवसाय नै दारुण अवस्थामा पुगेको र व्यवसायीलाई ठूलो मार पारेकाले सरकारले राहत प्याकेज घोषणा गर्नुपर्नेसहित सरकारलाई एसोसिएसनले ६ बुँदे सुझाव दिएको छ।

नाडा महासचिव सुनिल रिजालले एसोसिएसनका माग र सुझाव उल्लेख गर्दै जारी गरेको विज्ञप्तिमा यस क्षेत्रका श्रमिकको भुक्तानी रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान हुने गरी भुक्तानी गर्ने, भ्याट रकम तिर्ने समय थप गर्नुपर्ने बैंकको ब्याजको किस्ता तिर्ने समय ६ महिना थप गर्नुपर्नेलगायतका कुराहरु उल्लेख छन्।

यी हुन् नाडाका सुझाव
१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लक डाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने । त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने । लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कनगरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने ।

२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनु पर्ने ।

३ नेपाल राष्ट्र बैंकको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैंकको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ। यसै सन्दर्भमा बैंकहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्दछ । र साथै व्यवसायको संरक्षणका लागि बैंक व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनुपर्ने ।

४ भ्याटको रकम २०७७ वैशाख २५ गतेसम्ब बुझाउनुपर्ने व्यवस्थालाई २०७७ साल जेठ २५ गतेसम्म पु¥याउनुपर्ने ।

५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ वैशाख २६ गतेदेखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई शुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नुपर्नेछ । अव पनि लक डाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धराशायी हुनेछन् ।

६. लकडाउन खुलेपछि नाडाले आफनो व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षित भएर सामाजिक दूरी कायम गर्ने नियमलाई अवलम्बन गर्न आफना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्देश्यले सुरक्षा अवधारणा बनाएर अघि बढ्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .