एयरबसले नयाँ विमान बजारमा ल्याएको छ। ‘ए३२१ एक्सएलआर’ नाम दिएको नयाँ विमान कम्पनीले फ्रान्सको पेरिसमा भएको ‘एयर शो’मा सार्वजनिक गरेको हो। यद्यपि बजारमा उडान सेवा सञ्चालन गर्ने गरी भने विमान सन् २०२३ पछि मात्रै आउनेछ।यो विमान लामो दूरीको यात्राका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। ए३२१निओको परिष्कार गर्दै ल्याइएको नयाँ एक्सएलआरमा ४ हजार ७ सय नाउटिकल माइलको ‘रेन्ज’ रहेको छ। जुन न्युयोर्कबाट मस्कोसम्मको दूरीभन्दा लामो हो।
यो ए३२१ एलआरको ४ हजार नाउटिकल माइलमा १५ प्रतिशत थप रेन्ज हो। ए३२१निओ मोडलको विमानमा यसमा १५ प्रतिशतको रेन्जमा भएको वृद्धि हो। नयाँ जेट निर्माताका अनुसार ए३२१ मोडलका जहाजहरुको समान डिजाइनलाई यसमा अझै व्यापक बनाइएको छ। कम्पनीका अनुसार यसमा अरु सबै समान भए पनि रेन्ज बढाइएको छ। यसमा पछाडिको भागमा रहने मुख्य ट्यांकमा धेरै इन्धन अट्ने बनाइएको छ भने ल्यान्ड गर्ने गियरमा सुधार गरेर २ सय ११ टनसम्म लिएर उड्न सक्ने गरी क्षमता बढाइएको छ।
एक्सएलआर मोडलको नयाँ विमानले १ सय ८० देखि २ सय २० जनासम्म यात्रु बोक्न सक्छ भने यसमा दुई किसिमका सिटिङ क्लास रहेका छन्। अन्य कुरा ए३२१निओ मोडलजस्तै रहेका छन्। कम्पनीले यो मोडलको जहाजले भारतबाट युरोप र चीनबाट अष्ट्रेलिया उडान भर्ने लक्ष्यसाथ ल्याएको बताएको छ। यो दूरीमा नयाँ जहाज उपयुक्त हुने कम्पनीको दाबी छ।
यो मोडलका जहाज अग्रिम माग गर्ने एयरलाइन कम्पनीमा लेबनानको मिडल इष्ट एयरलाइन रहेको छ, उसले चारवटा जहाजको माग गरेको छ। त्यसका साथै उक्त कम्पनीले एयरबसका ए३२१निओ ११ वटा पनि माग गरेको छ। यसबाहेक कम्पनीले लस एन्जेलसमा हवाइसेवा प्रदान गर्ने एयर लिज कर्पोरेसनसँग पनि २७ वटा एक्सएलआर र ५० वटा ए२२०–३०० विमान उपलब्ध गराउन सम्झौता गरेको छ।
त्यस्तै उक्त कर्पोरेसनसँग २३ वटा ए३२१निओ जहाजको सम्झौता पनि भएको छ। उक्त सम्झौताबमोजिम एयरबसले सन् २०२३ देखि मात्रै विमान सम्बन्धित कम्पनीलाई दिन सुरु गर्ने बताइएको छ।
एभिएसन टुडे अनलाइनबाट।
Shares
प्रतिक्रिया