ad ad

अटो


अटोमोबाइल सेक्टरलाई स्मार्ट बनाउने मेराे प्राथमिकता: कपुरी (अन्तर्वार्ता)

अटोमोबाइल सेक्टरलाई स्मार्ट बनाउने मेराे प्राथमिकता: कपुरी (अन्तर्वार्ता)

बसन्त अर्याल
मंसिर १९, २०७६ बिहिबार ५:२८,

२० वर्षदेखि अटोमोबाइल सेक्टरमा आबद्ध छन् प्रकाश कपुरी। आफूसहित आफ्नो परिवारलाई समेत अटोमोबाइलकै क्षेत्रमा समेटेका छन् उनले। नाडा अटो एसोसिएनमा हाल उनी शम्भु दाहालको नेतृत्वमा उपाध्यक्ष छन्। त्यसअघि कार्यकारी सदस्य थिए।

आगामी पुस ४ गते हुने नाडा अटोमोबाइल एसोसिएसनको महाधिवेशनमा उनले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यसै सन्दर्भमा कपुरी ब्रोदर्शका सञ्चालक प्रकाश कपुरीसँग नाडा नेतृत्वमा उनको दाबेदारी र अटोमोबाइल क्षेत्रका विषयबारे नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

तपाईले अध्यक्ष पदमा दावी प्रस्तुत गर्नुभएको छ, तर केही शुभेच्छुक तथा व्यवसायीले तपाई अहिले नै अध्यक्ष बन्ने बेला भएको छैन भन्ने गरेको पनि पाइयो नि?
प्रकाश कपुरीले हरेक कुरामा छिटोछिटो प्रगति गरेको छ। विहे पनि सानै उमेरमा गरेँ। सानै उमेरमा व्यवसाय सुरु गरेँ र व्यवसाय स्थापित गरेँ। नाडामा एक कार्यकाल सदस्य बनेपछि उपाध्यक्ष बनेँ। अब उपाध्यक्ष बनिसकेको म घर बस्ने कुरा त भएन। संस्थालाई केहि गर्नुपर्छ भन्ने विचारले अध्यक्ष पदको दाबी गरेको हुँ। संस्थालाई राम्रो र सक्रीय बनाउने मेरो आफ्नो विचार छ। अध्यक्ष बनेपछि त्यो कार्यन्वयन गर्छु ।

अध्यक्ष भए नाडाको लागि के के गर्न सक्नुहुन्छ?
अहिले नाडा चुनावको बेलामात्रै बढी सक्रिय हुनेगरेको छ। नाडाले अन्य कामहरू पनि गरेकाे छ तर याे क्षेत्रका व्यवसायीबीच सदस्य नवीकरणदेखी अरु साना साना काम समेत अधिवेसनकै बेलामा मात्रै गरेकाे जस्ताे अनुभूति पर्न गएकाे छ। संस्था सक्रीय बनाउन हामी चुकेका छौं। नाडालाई सँधै सक्रीय बनाउने मेरो मुख्य प्राथमिकता हुनेछ। देशको लागि नाडा सानो संस्था होला, तर अटोमोबाइल व्यवसायीहरुको लागि नाडा ठुलो संस्था हो। सम्पूर्ण व्यवसायीका कुरालाई नाडामार्फत् सरकारसमक्ष राख्न सक्नुपर्छ। त्यस्तै संस्थामा आवद्ध भएपछि एक सदस्यले अर्को सदस्यको समस्या समाधानको लागि सहयोग गर्नु हो ।
मैले देशभरका अटो व्यवसायीलाई नाडामा आवद्ध गराउने प्रयास गर्नेछु। सर्भिस, स्पेयर पार्टस्, इन्जिन आयल, टायर, वर्कशप लगायतका सबै व्यवसायीलाई समेटेर लैजान्छु। सबैलाई समेट्न नसक्ने भए हामीलाई नाडा संस्था नै चाहिँदैन। अटो क्षेत्रमा काम गर्ने सबैलाई नाडा हाम्रो संस्था हो भन्ने अनुभूति हुनुपर्छ। 

अहिलेसम्म नाडाले अटो शो भन्दा अरु केही गर्न नसकेको जस्तो देखिन्छ। किन यस्तो? 
अरु काम पनि गरेका छौं, तर धेरै काम संस्थाभन्दा पनि व्यक्तिगतरुपमा हुँदा नाडा अटो शो बाहेक अरु नगरेको जस्तो देखिएको हो। पदाधिकारीको कारणले मात्रै नाडा सक्रीय हुन सक्दैन। व्यवसायीले आफ्ना समस्या संस्थामा ल्याउने र त्यहाँ छलफल गरेर सल्टाउन गर्नुपर्छ। सदस्यहरुले जहिले पनि म नाडाको सदस्य हुँ, कुनै व्यवसायीक समस्या आए संस्थाले सहयोग गर्छ भन्ने भावना भयो भने मात्र संस्थाको सान्दर्भिकता हुन्छ। तर केही व्यवासायीले सिधै सरकारसँग ‘डिल’ गर्दा पनि नाडाको सक्रियता कम देखिएको हो।
साना–ठुला सबै व्यवसायीका समस्या संस्थामार्फत नै समाधान गर्ने परिपाटि भयो भने धेरै मुद्दाहरु सल्टाउन सकिन्छ।

अटो क्षेत्रलाई अगाडि बढाउने तपाईंको भिजन तथा मुख्य एजेन्डा के हो?
मेरो भिजन भनेको अटोमोबाइल सेक्टरलाई स्मार्ट बनाउनु पर्छ। यो क्षेत्र पारदर्शी हुनुपर्छ। त्यसको लागि ‘डिजिटाईजेशन’ गर्नुपर्छ। त्यो गर्ने भनेको नाडा संस्थाले नै हो। स्मार्ट बन्ने कुरा तलबाट पनि शुरु गर्न सकिन्छ। डिलर/सब डिलरबाट नै डिजिटाईजेसन गर्न सकिन्छ। त्यसले ठुला आयातकर्तालाई पनि झकझकाउँछ। नाडामार्फत नै भ्याट अथवा भन्सार महशुललाई विद्युतीयकरण गर्यौ भने राजस्व पनि राम्रो उठ्छ। व्यवसायीक प्रतिस्पर्धा बढी हुन्छ। राज्यलाई नै फाईदा हुन्छ। त्यसका साथै अग्रज र नयाँ व्यवसायी सबैसँग सल्लाह गरेर अघि बढ्छु।

अटो बजार खस्कँदै जानुमा व्यवसायीहरु यसको दोष सधै सरकारलाई मात्रै दिन्छन्। बजार खस्किनुमा सरकारको नीति मात्रै दोषी हो त?
सरकारको कारण मात्रै अटोबजार खस्किने भन्ने हुँदैन। हाम्रा छिमेकी चीन, भारतमा अटो बजार कस्तो छ भन्नेले पनि नेपालको बजारमा प्रभाव पर्छ। अहिले भारतीय अटोबजार खस्किएको छ। त्यसको असर पनि नेपालमा परेको हो। अहिले भारतीय बजारका साथै नेपालमा पुँजी अभावले बजार खस्किएको हो। समयअनुसार घट्ने बढ्ने त भइहाल्छ, तर त्यसलाई सन्तुलनमा राख्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .