World Cup 2026


बाहिरिए विश्वकपका तीनै आयोजक

बाहिरिए विश्वकपका तीनै आयोजक

लक्ष्मी जि.सी
असार २३, २०८३ मंगलबार १४:२३, काठमाडौँ

पहिलो पटक फिफा विश्वकप तीन देशमा चलिरहेको छ। क्यानडा, मेक्सिको र अमेरिका आयोजक रहेको विश्वकपमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाए। 

विश्वकपका तीनै आयोजक टोली अन्तिम-१६ बाट नै बाहिरिए। बेल्जियमसँग ४-१ गोलको फराकिलो अन्तरले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिने अन्तिम टोेली बन्यो अमेरिका। त्यसो त विश्वकप सुरु हुनुअघि नै अमेरिकाको निकै आलोचना हुँदै आएको थियो। खेलाडी र रेफ्रिलाई अमेरिका प्रवेशका लागि भिसा नदिँदा होस् वा समर्थकलाई खेल हेर्न जाँदा मैदान प्रवेशमा गरिएको कडाइ। 

यति मात्र होइन, अमेरिकाको दबाबका कारण फिफाले विश्वकप आयोजनाको समयअघि होस् वा विश्वकप जारी रहँदा गरिएका नियम परिवर्तन यसले सामाजिक सञ्जालमा निकै चर्चा पायो। पछिल्लो समय बेल्जियमविरुद्धको खेलअघि अमेरिकी फरवार्ड फोलेरिन बालोगनको रेडकार्ड फिर्ताको निर्णयले त अझ बढी चर्चा पायो। यसले भविष्यमा फिफालाई ठूलो असर गर्ने चेतावनी र विश्लेषण फुटबल विज्ञहरूले गरेका छन्। 

विश्वकपबाट बाहिरिने आयोजकमा क्यानडा पहिलो बन्यो। मोरक्कोसँग ३-० गोलको हार भोग्दै क्यानडा विश्वकपबाट बाहिरिएको थियो। 

अर्को खेलमा इंग्ल्यान्डसँग ३-२ गोलको हार भोग्दै मेक्सिको पनि विश्वकपबाट बाहिरियो। खेलको ५४औँ मिनेटमा जरेल क्वान्साहले रातो कार्ड खाँदै मैदान छाडेपछि इंग्ल्यान्ड १० खेलाडीमा सिमित बन्यो। तर त्यसको फाइदा मेक्सिकोले उठाउन सकेन र विश्वकपबाट नै बाहिरियो। 

यो विश्वकपमा अप्रत्यासित नतिजाहरू आइरहेका छन्। पूर्व विश्व च्याम्पियन उरुग्वे समूह चरणबाट नै बाहिरिँदा होस् वा जर्मनी, नेदरल्यान्डस् र क्रोएसियाको अन्तिम ३२ बाट नै भएको बहिर्गमन यो विश्वकपका अप्रत्यासित नतिजा हुन्। 

अन्तिम १६ बाट ब्राजिल र पोर्चुगल घर फर्किँदाको पीडा विश्व फुटबलमा रमाइरहेकाहरूका लागि एउटा नराम्रो सपना जस्तै बनेको छ। 

यही अप्रत्यासित नतिजाबीच केप भर्डेको सनसनीपूर्ण प्रर्दशनले फुटबल समर्थकमा नयाँ उत्साह थपेको छ। सानो टापुको देश केप भर्डेले पहिलो सहभागितामा नै विश्व मञ्चमा आफुलाई सावित गरेर फर्कियो। 

समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरबलाई बराबरी गर्दै विश्वकपको नकआउट चरणमा पुगेको थियो। अन्तिम ३२ मा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग ३-२ गोलको हार भोग्दै केप भर्डे विश्वकपबाट बाहिरिए पनि शिर ठाडो गरेर घर फर्कियो। 

विश्वकपमा नयाँ इतिहास कोरेको केप भर्डेको विमानस्थलमा भएको भव्य स्वागत कुनै विश्वविजेता टोलीको भन्दा कम थिएन। केप भर्डेको प्रदर्शनले विश्व विजेता टोलीमाथि खतराको संकेत गरेको छ भने नयाँ टोलीका लागि सम्भावनाको ढोका खुला रहेको देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad