World Cup 2026


१६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेलाई रोक्ला अमेरिकाले? (प्रिभ्यु)

१६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेलाई रोक्ला अमेरिकाले? (प्रिभ्यु)

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार २०:१८, काठमाडौँ

शनिबार बिहानै अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदै छ। लस एन्जलसमा हुने खेलमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

अमेरिकालाई घरेलु मैदानको फाइदा छ भने १६ वर्षपछि फर्किएको पाराग्वे अझै बलियो बनेर आएकोले यी दुईबीच रोमाञ्चक खेलको अपेक्षा छ। सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न १९औं संस्करणमा पाराग्वेले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो।

तर, त्यसपछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेन। १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किनाका बावजुद पाराग्वेमा आत्मविश्वासको कमि छैन। टोलीले ठूला विपक्षीलाई निराश पार्ने विश्वास लिएको छ।

मोउरिसियो पोचेटिन्होको नेतृत्वमा अमेरिकालाई सर्वप्रथम समूह चरण पार गर्ने चुनौती छ। पोचेटिन्होले मिश्रित नतिजा आत्मसात् गरिरहेका छन्। 

मैत्रीपूर्ण खेलमा बेल्जियम र पोर्चुगलसँग हार बेहोरेको अमेरिका विश्वकपअघि जर्मनीसँग पनि पराजित भयो। गत वर्ष अमेरिकाले पाराग्वेलाई २–१ र उरुग्वेलाई ५–१ ले हराएको थियो।

मार्चमा पाराग्वेले ग्रीसलाई १–० ले हराएको थियो। तर, बलियो मोरक्कोसँग टोली २–१ ले हार्न पुग्यो। विश्वकपअघि पाराग्वेले वार्म अप खेलमा कमजोर निकारागुवामाथि घरेलु मैदानमा ४–० को जित हासिल गरेको थियो। तर, खेलका क्रममा टोलीका स्टार फरवार्ड हुलियो एन्सिसो घाइते हुन पुगे। खुट्टाको चोटका कारण उनले कम्तिमा विश्वकपका सुरुआती दुई खेल गुमाउने अनुमान गरिएको छ।

एन्सिसो पाराग्वेका प्रमुख गोलकर्ता हुन्। उनको अनुपस्थितिमा अब अनुभवी कप्तान मिगुएल आल्मिरोनमाथि जिम्मेवारी बढेको छ। उनका साथै मिडफिल्डर डामियन बोबाडिला र स्ट्राइकर एन्टोनियो सानाब्रियामाथि पनि अझ बढी जिम्मेवारी रहनेछ।

पाराग्वेले रक्षापङ्क्तिमा ओमार अल्डेरेटेलाई भरोसा गरेको छ। तर, विपक्षी टोली अमेरिकासँग उनलाई चुनौती दिन सक्ने थुप्रै आक्रमणकारी विकल्पहरु छन्। क्रिस्टियन पुलिसिक एसी मिलानमा सिजनको अन्त्यतिर कठिन समय बिताए पनि अहिले पूर्ण रुपमा फिट भएर मैदान उत्रिने आशामा छन्। 

फोलारिन बालोगुनले आफूलाई  प्रभावशाली स्ट्राइकरका रुपमा स्थापित गर्न कोशिस गरिरहेका छन् भने मालिक टिलम्यानले अमेरिकी आक्रमणलाई थप धार दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad