कर्णाली नदीको शिर भेटेपछि हाम्रो यात्राले औपचारिकता पायो। यात्राको ८ औँ दिन कर्णालीको पुछारसम्म पुग्नका लागि हामी अगाडि बढ्यौँ।
हाम्रो ईच्छा त कर्णालीको किनारै–किनार हिँड्ने थियो तर सुरक्षाका हिसाबले संवेदनशील रहेको भन्दै गाइडले हामीलाई रोके।
हामी कर्णालीको माथिल्लो भाग हुँदै कार्दुङ गाउँ पुग्यौँ। यो गाउँ कर्णालीको शिरको माथिल्लो भागमा रहेको सबैभन्दा पहिलो गाउँ रहेछ। त्यहाँबाट हामी कार्दुङभन्दा तल्लो भागमा रहेको गाउँमा पुग्यौँ। त्यो गाउँ परम्परागत थियो र त्यहाँ गुफाहरु पनि थिए।
केही समय घुमेपछि त्यहीँ क्याम्प बनायौँ र बस्यौँ। राति हामीलाई कुनै कुराको ख्यालै भएन। बिहान उठ्दा त क्याम्प नजिकै कालो सीसा भएको एउटा गाडी रोकिराखेको रहेछ। त्यो गाडी पुलिसको रहेछ। उनीहरुले अघिल्लो दिनभर हाम्रा गतिविधि नियालेका रहेछन् र हामीलाई शंकाको घेरामा राखेर निगरानी गरेका रहेछन्। त्यो कुरा हामीलाई गाइडले बताए। त्यसपछि हामी थप सतर्क भयौँ।
अर्कोदिन बिहानै क्याम्पभन्दा केही उकालो चढ्यौँ। मरुभूमि क्षेत्रमा हरिया रुखहरु देखेर म दंग परेँ। दृश्य हेर्दा यस्तो लाग्थ्यो कि त्यहाँ ठूलै योजनाका साथ वृक्षारोपण गरिएको हो। बाटोभरि रोपिएका रुखहरु हेर्दै हामी बुराङ शहर (नेपाली र भारतीय ताक्लाकोट भन्छन्)मा पुग्यौँ। जुन ठ्याक्कै माथिल्लो मुस्ताङजस्तै थियो। त्यहाँ अग्ला–अग्ला बिल्डिङहरु ठडिएका थिए। सेवा–सुविधा सम्पन्न होटलहरु पनि थिए। काम गर्ने नेपालीको संख्या उल्लेख्य देखियो।
नेपालीले पकाएको च्यांग्राको मःमःको स्वाद चाख्न पाउँदा आनन्द लाग्यो। नेपाली होटलहरुमा पाइने दाल, भात र मासु (भेडा र च्यांग्रा)को परिकार निकै चर्चित रहेछ। चिनियाँ खाना महँगो पर्ने र नेपाली खाना स्वादिलो पनि हुने भएकाले प्रत्येक नेपाली होटलमा तिब्बती होटलभन्दा भिडभाड थियो।
ताक्लाकोटपछि नेपाल–तिब्बत नाका हिल्सा आउने भएकाले पनि होला यो शहरलाई चीनले निकै प्राथमिकता दिएको देखियो। बजार पनि विस्तारको चरणमा रहेछ। त्यो देखेर मेरो मनले यो शहरलाई केरुङको रुपमा विकास त गर्न लागिएको होइन भन्ने प्रश्न गर्यो। त्यहाँ नेपाली, भारतीय, चिनियाँ र केही अन्य देशका पर्यटकहरु आउँदा रहेछन्। अर्को कुरा त्यहाँ नेपाली बजार र भातीय बजार भनेर पसलहरु छुट्टाछुट्टै राखिएका रहेछन्।
त्यस्तै शहरमा देखिएका पुराना घरहरुमा नेपालीपन झल्कन्छ। ती घरहरु बनाउन आवश्यक काठ नेपालबाट नै लगिएको कुरामा कुनै शंका छैन। साथै, घरको ढोकामा शुभ–लाभको चिन्ह छ। यति हुँदाहुँदै यहाँको मुख्य आकर्षण भनेको गुफा हो। भिरमा चट्टानले बनेका थुप्रै गुफाहरु छन्। गुफाभित्रै एउटा आकर्षक गुम्बा पनि छ। गुफाको पारिपट्टीको डाँडामा सैनिक क्याम्प देखिन्थ्यो। केहीबेर त्यहीँ वरिपरि घुमेपछि हामी होटलमा फर्कियौँ।
गुम्बाबाट झन्डै १ घण्टा उकालो हिँडेपछि एउटा ऐतिहासिक किल्लामा पुगिँदो रहेछ। हामीलाई त्यहाँ जाने निकै रहर थियो। तर, अघिल्लो दिननै पुलिसले पहरा लगाएपछि मनमा डर बढेको थियो। त्यसैले हामी जाने अवस्थामा थिएनौँ। एक अमेरिकी साथीले किल्ला हेर्न जाने निधो गरे। उनलाई १० बजेसम्म होटलमा आउने सहमतिमा तिब्बती गाइडले नेपाली गाइडलाई साथमा लिएर जाने अनुमति दिए। तर, ११ बज्दासमेत उनी आएनन्। ११ बजे हामीलाई बोर्डर पासका लागि चेकिङमा बोलाइएको थियो। तिब्बती गाइड हामीसँग रिसाए। हामीलाई भने साथीको अवस्थाबारे चिन्ता लाग्न थाल्यो। फोन पनि उठेन। पक्कै समस्यामा परे भन्ने लाग्यो। तर त्यस्तो नराम्रो केही भएन। १२ नबज्दै उनीहरु सकुसल आइपुगे।
त्यसपछि हामी बोर्डर पासका लागि अघि बढ्यौँ। बुराङमै हरेक सामान र व्यक्तिको शरीरको स्क्यान हुँदोरहेछ। त्यो सुविधा हिल्सा (बोर्डर)मा रहेनछ। पास भएपछि हिल्सासम्म आर्मी पनि गाडीमा जाँदा रहेछन्। हिल्सा नपुग्दासम्म बाटोमा कतै ओर्लन नपाइँदो रहेछ। मेरो क्यामेरामा तिब्बतका थुप्रै फोटो र भिडियो थिए। डरले बोर्डर पासका लागि जानुअघि त्यसलाई एउटा हार्डडिस्कमा राखेर हार्डडिस्क चामलको बोरामा लुकाएँ।
अमेरिकी साथीले ढिला गरेका कारण दिउँसो २ बजे जाँच गरेर साँझ ५ बजेमात्र त्यहाँबाट अघि बढ्न पाउने भयौँ। त्यसबीच मेघ आले पनि किल्ला हेर्न जानुभयो। हामी भने घुम्न थाल्यौँ। किल्लामा राजाको निकै पुरानो महल रहेछ। त्यस क्षेत्रमा आर्मीले सिसी क्यामेरामार्फत गतिविधि नियाल्दा रहेछन्।
स्क्यान गरेपछि हामी त्यहाँबाट हिँड्यौँ। त्यसदिन बुराङमा आर्मीको विशेष कार्यक्रम रहेकाले हामीसँग गाडीमा उनीहरु नाकासम्म आएनन्। बाटोमा २ ठाउँमा चेकिङ स्पट रहेछ। एक ठाउँमा चेकिङ भयो। अमेरिकी साथी गाडीको ढोकाको छेउँमा बसेको थियो।
गाइडले त्यहाँ फोटो नखिच्नु भनेकाले मैले क्यामेरा प्याक गरेको थिएँ। तर, साथीले क्यामेरा हातमा छोपिरहेका थिए । सोही बेला उनले ज्यान मर्काए। क्यामेरा ढोकातर्फ तेर्सियो। त्यसो हुनु र आर्मी चेकिङका लागि आउनु सँगैजस्तो भयो। आर्मीले ‘नो फोटो आई सेड’ भनिहाले। ढोका खोलेर साथीलाई गाली गरे। साथीको सातो नै उड्यो। बिन्ती गर्दै आफूले फोटो नखिचेको बतायो। आर्मीले गाइडलाई बोलाएर ‘डिलिट–डिलिट’भन्दै कराए। गाइडले फोटो नखिचेको बताए। खासमा उनले त्यहाँ फोटो खिचेका थिएनन्। गाइडले सम्झाएपछि उनीहरु माने र हामी जोगियौँ। नत्र त्यहाँ के हुन्थ्यो हामीलाई थाहा छैन। यसरी ३० मिनेटमा हिल्सा आइपुग्यौँ।
नाका पार गरेपछि सबैले स्वतन्त्र महसुस गर्यौँ। देश प्रेम झल्कियो। खुसीले सीमा नाघ्यो। अब हामी आफ्नै देशको माटो भएर हिँडेरै कर्णालीको किनारै–किनार अघि बढ्नेछौँ।
प्रतिक्रिया