झसंग भएँ! बिहान भइसकेको रहेछ।
राति कति बेला उज्यालो हुन्छ भन्दाभन्दै निदाएको रहेछु। ब्युझिँदा मन खुसी र फुरुंग पो छ, एकछिन आफैँ अलमल्लमा परें।
आज किन यस्तो भइरहेछ? एकछिन घोत्लिएँ...बल्ल पूरा होसमा आएँ, ओहो! आज शनिबार ऐसेलुखर्क बजार जाने दिन पो हो त। सिरक खुट्टाले गुटुमुटु पारेर कुनातिर ठेले अनि उठेर दगुरे हँसिया भएतिर।
त्यो दिन म निक्कै खुशी थिए। खुशी नहुने कुरै थिएन किनभने सालैपिच्छे ‘आमा यसपली चाहिँ लाखे हेर्न बजार जान्छु है’ भनेको तीन वर्षपछि उहाँले बल्ल..ल ल जा भन्नु भा’थ्यो।
तर, आमाको एउटा सर्त थियो। बजार जानुअघि र आएपछि एक–एक भारी घाँस काट्ने। नमान्ने कुरै थिएन। उहाँले त्यसो भनिनसक्दै मैले हुन्छ भनिसकेको थिएँ।
मेरा प्रायः साथीहरु नेपाने गाउँबाट बजार गइसकेका थिए। स्कुलमा बजारमा यस्तो छ, उस्तो छ भनेर सुनाउथे। बजारका कुरा सुन्दा रमाइलो लाग्थ्यो मलाई। तिनै कुराहरु सुनेर बजारको एकखाले चित्र बनिसकेको थियो मस्तिष्कमा।
हतारमै काटियो घाँस पनि। गोठमा बस्तुलाई पुगोस् नपुगोस् आफ्नो भारी पुगे भो। जसोतसो भारी पु¥याएँ नाम मात्रैको। बोकेर घर कुदें।
घर नजिक आएपछि खुट्टाको गति अलि घटाएँ। अलि कुप्रो परें डोको गर्हौं भएको नक्कल गर्दै एसो छड्के आँखाले आमालाई हेरें।
चुलामा खै के गर्दै हुनुहुन्थ्यो। मलाई वास्ता गर्नु भो भएन पत्तो पाइन। ढोका काटेपछि फेरि अघिकै गतिमा कटेरोसम्म कुदेर पुगें, डोको बिसाएँ। बिहानको ड्युटी सकियो।
बजार जानका लागि भएकोमध्ये सबैभन्दा राम्रो लुगा लगाएर चिटिक्क परें। अब बजार जान रेडी भयौं। भान्सामा पन्यु कराएको आवाज सुने। खाना तयार भइसकेछ। पसें भान्साकोठातिर आमाले पुलुक्क हेर्नु मात्रै भयो केही बोल्नुभएन।
भरे छिटो आइजा है भन्दै खाना दिनुभयो। किन हो कुन्नी खानै रुचेन। खाना थालमै छाडेर त्यत्तिकै उठें। ब्ल्ल–बल्ल आँट गरेर आमासँग खर्च मागेँ। आमाले पैसाको सट्टा एउटा झोला पो दिनुभो।
कतै बिहे वा आफन्त कहाँ जाँदा रक्सीको कठुवा बोक्ने झोला। हतार–हतार अर्को कोठामा गएर हेरे झोलामा प्लास्टिक भित्र खुर्सानीको पोका रहेछ। भान्सा कोठाबाटै आमाको आवाज आयो–त्याँ तल दिदी बजूहरु आउँछन सँगै जा। के–के बोक्छन् बजारमा सँगै बस्नु र बेच्नु।
ल अब परेन त फसाद! स्कुलका साथीहरु सबै जान्छन्। खुर्सानी बेच्दै गरेको देखे भने स्कुलमा कसरी मुख देखाउनु। सम्झँदै भित्र कता–कता काउकुती लागेर आयो।
फेरि बजार सम्झें, लाखे सम्झें, मन चंगा भो। मास्तिर ढिल निस्के उधो फर्केर बसें बजारे आउने बाटो ताकेर। धेरै बेर बसें कोही पनि आएन। धेरै समयपछि बल्ल एक हुल बजारे हल्ला गर्दै आए।
हुल भित्रबाट एकजना दिदी कराईन ए...आज त साँइला पनि बजार लु–लु जाँम। के छ झोलामा? कस्तो अप्ठ्यारो प्रश्न। तर, केही बोलिनँ। खिस्स हाँस्दै मिसिएँ हुलमा। भइयो बजारे।
गाँउको सिरान पुग्दा हुल निक्कै ठूलो भइसकेका थियो। कस्ले के भन्ने कस्ले के, बाटो हिँड्न खुब रमाइलो भो। लगभग एक घण्टा उकालो चढिसकेपछि समथर ठाँउ आयो। कतै चिल्लो डाँडा कतै जंगल। आहा कति रमाइलो ठाँउ। सिरिरि हावा आइरहने। जंगलको बीचैबीच चिल्लो बाटो। मैले कल्पना गरेजस्तै।
हिँड्दै गर्दा एक जना बोजु छेउ गएर सुटुक्क भने। बोजू म पनि तपाइँसंगै खुर्सानी बेच्न बस्छु है। ल ल..उहाँले भन्नुभयो। मनमा शान्त भयो।
जंगल कटेपछि जस्ताले छाएका घरहरु आए। ल बजार आएछ मनमनै सोचेँ। रोकिएनन् कोही पनि हिँडिरहे खुरुखुरु। मैले पाइला पछ्याइरहें।
लगभग २० मिनेट जति घरै–घरकाबीचबाट हिडिँसकेपछि हाम्रो भीड दायाँ मोडियो।
अलिकति उकालो खुड्किला चढेपछि त म छक्क परे। कति धेरै मान्छे। हल्का भिरालो ठाउँ कोही तेर्सो, कोही ठाडो, लहरै आफ्नो पसल थापेर बसेका।
हिँड्ने ठेल्दै हिँडेका छन्, किन्ने किन्दैछन्, बेच्ने बेचिराछन्। अब त कसैलाई केही भन्नलाई कानैमा जानु पर्ने भयो। यो मैले सोचेभन्दा अर्कै बजार थियो। मैले चाहिँ बोजु जानुहुन्छ उहाँलाई पछ्याइरहें।
बजारको माझतिरै होला अलि भिरालो सानो साघुँरो ठाँउ खाली रहेछ यहि बसाैँ भनिन् बसेँ उहाँकै छेउमा। तौलियाले छोपेको थुन्चे खोलिन, कोदो रहिछ।
झोला मागिन् खोलेर आफ्नै अगाडि राखिन्। मन अलि शीतल भो। खुर्सानी मालिक म व्यापारी चाहिँ बोजु।
बजैको कोदो आधा मात्रै बिक्री भइसक्यो खुर्सानी किनेनन् कसैले। मन अमिलो हुँदै गयो। बजैले आफ्नै कोदोलाई मात्रै ध्यान दिएरै होकी? मनमा यस्तै सोच्दै थिएँ केहीबेरमा ठूलो ताँती ढोल झ्याम्टासहित आइपुग्यो।
एक जना मान्छे जामा, मुकुण्डो र टाउकोमा झम्लंग कपाल पारेर उफ्रिँदै आयो हामी तिरै। छेउ–छेउमा मुकुण्डो मात्रै लगाका दुई जना पनि उफ्रँदै थिए। म छक्क परें...। छेउछाउमा खैलाबैला सुरु भो ऊ...ऊ...लाखे आयो। बल्ल थाहा पाएँ, मैले हेर्न जान्छु भनेको लाखे त यही पो रहेछ।
लाखेले धुलो उडाउँदै उफ्रँदै आएर झण्डै हाम्रो पसलै कुल्चेर गयो। नजिकै आउँदा साह्रै डर लाग्यो, धन्न बोजुको पछाडि थिए र। अलि पर पुगेपछि तन्केर हेरे मेरा साथीहरु पनि पछिपछि दौडिदै रहेछन्। मैले सोचे, धन्न मलाई देखेनन् लाखेको धुनमा। मलाई पनि जान मन नलागेको कहाँ हो र तर खुर्सानीले रोक्यो।
केही क्षणमा मेरो खुर्सानी बिक्यो ३० रुपैयाँमा, बोजुको कोदो चाहिँ थोरै बाँकी नै थियो।
त्यतिकैमा मैल बोजु म घुमेर आँउछु है भनेर हिडिहाले। चाँडै आउनु ढिला हुन्छ है...अरु के–के भन्दै हुनुहुन्थ्यो। माथि पुगिसकेकाले केही सुनिन्।
बजारको सिरानतिर पुगेर उँधो फर्कें। आमामा कत्ति धेरै मानिसहरु कमिला हिँडे झैँ लाग्यो। मेरा आँखाले लाखे खोज्दै थियो।
निकै पर परसम्म नजर डुलाएँ देखिनँ। ढोल बजेको आवाज मात्रै गुञ्जियो कानभित्र कता–कता। मनको दुविधा मेट्न पाइनँ।
गोजी भित्रको ३० रुपैयाँले लाखे धित मरुन्जेल हेर्न नपाएको पीडालाई अलिकति भएपनि मलमपट्टिको काम गर्दियो। गोजी गरम छ केही खाउँखाउँ जस्तो लाग्यो।
लुसुक्क नजिकैको एउटा खाजा पसलमा पसें र थुक्पा मागे ५ रुपैयाँको। आहा कति मीठो, पेट टन्न भो। लौ बजु गइसकिन कि हतारिँदै कुदेँ। घर पुगेर फेरि घाँस पनि त काट्नु छ।
Shares
प्रतिक्रिया