घुमघाम


भारतीय रेलमा तेस्रोलिंगीको त्यो आतंक...!

भारतीय रेलमा तेस्रोलिंगीको त्यो आतंक...!

विमल पोखरेल
काठमाडौं, साउन २५

२०७५ सालको दसैंको दिन म त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सको बिहानी उडानमा दिल्ली पुगेँ। उक्त विमान अत्यन्तै आकर्षक, हेर्नलायक र गज्जबको सेवासुविधा सम्पन्न थियो। वाइडबडी विमान धेरै विदेशी र केही नेपाली यात्रुले भरिभराउ थिए। नेपालकै यति राम्रो विमान चढ्न पाएकोमा म गौरवले पुलकित थिएँ। चढेको केही समयमै दिल्ली पुगिहालियो ।

काठमाडौंको सानो एयरपोर्टबाट विशाल र सयौं जहाजले भरिभराउ दिल्ली एयरपोर्ट पुग्दा रमाइलो लाग्यो। मैले करिब २ घण्टा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको भव्यता नियालेरै बिताएँ। त्यसपछि साथी धनवीर पुनलाई सम्पर्क गरेर मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय बदरपुर बोर्डर पुगें। त्यहाँ पुग्दा सिटी बसमा गएको थिएँ। आकासेपुलमा मोटरगाडी र रेलहरु हुँइकिइरहेका थिए। सुरुमै दिल्लीको भव्यता मेरा लागि नयाँ नै थियो। मैले देखेको दिल्ली त्यति सफा त थिएन तर पनि दिल्ली मैले सोच्दै नसोचेको हरियालीको बीचमा थियो। रुख नभएको कुनै ठाउँ थिएन। गाडी र रेल त कति कति!

म दिल्ली घुम्ने भनेरै गएको थिएँ। त्यहाँका महत्वपूर्ण स्थानहरु जानुपर्छ भन्ने सोच बनाएँ। बदरपुर बोर्डरबाट दिल्लीको मेट्रो रेल चढें। केन्द्रीय सचिवालयसम्मको टिकट थियो। त्यो सचिवालय प्रधानमन्त्री, राष्ट्रपति बस्ने भवन मात्रै थिएन केन्द्रीय संसद र मन्त्रालयहरु भएको स्थान पनि थियो। काठमाडौंको सिंहदरबार हेरेको मैले इण्डिया गेटको अगाडिको केन्द्रीय सचिवालयको भव्यतामै घण्टौं विताएँ। इण्डियागेटदेखि केन्द्रीय सचिवालयसम्मको त्यो फराकिलो ठाउँ देखेपछि यस्तो लाग्यो कि हाम्रो काठमाडौं त शासकहरुले सिध्याइसकेका रहेछन्। यिनीहरुले सिध्याउन बाँकी सिंहदरबार र टुंडिखेलको अस्तित्वमात्र रहेछ।

गान्धी समाधीस्थल राजघाट र हाम्रो शहीदगेटको कसरी तुलना गर्ने? हजारौँ रोपनीमा राजघाटलाई यसरी सजाइएको छ कि त्यहाँ जाने जोकोही पनि वाह गान्धीको समाधीस्थल भनेर फर्कन्छन्। काठमाडौंका शासकहरुले देश लुट्नबाहेक अरु केही जानेका थिएनन्, छैनन् भन्ने निष्कर्ष निकाल्न मलाई इण्डियागेट र राजघाट जानुपर्‍यो।

दिल्ली घुम्ने क्रममा मेट्रो रेल स्टेसन पुगें, त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा थियो। दिल्लीका सबै मेट्रो स्टेसनको सुरक्षा व्यवस्था उस्तै रहेको कुरा साथीले भन्यो। टिकटको रुपमा टोकन वा कार्डमार्फत पैसा तिरेर यात्रा गर्न पाइने वैज्ञानिक विधि रहेछ। मैले बदरपुर बोर्डरबाट कस्मिरीगेट आउँदा १ सय रुपैयाँ तिरेँ। तर त्यो ६० रुपैयाँको यात्रा रहेछ। सिक्का जस्तो टोकनमा कति रुपैयाँ हालिएको हो, थाहा हुँदैन। पछि साथीसँग बुझ्दा मेरो पैसाले स्टेशनका कर्मचारीले अरु कसैको कार्ड चार्ज गरिदिएका रहेछन् भन्ने चाल पाएँ। यसरी म रेलको कर्मचारीबाटै ठगिएँ। नमज्जा लाग्यो।

दिल्लीको मेट्रो रेल सुरक्षित नै देखियो। विद्यार्थी र अफिसका कर्मचारीले भरिभराउ, सर्वसाधारण र गृहिणी त हुने नै भए। सबै रुटका रेलमा एसी जडान गरिएको थियो।

रेल स्टेसन जमिनमुनीबाट निर्माण गरिएको रहेछ। जमिनमुनि रहेका स्टेसन झनै भव्य। दिल्लीमा रहेको कास्मिरीगेटको बसपार्कसँग मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलना गरेँ। दिल्लीमा चल्ने मेट्रो रेलबाट एयरपोर्ट आउने रुटमा बेग्लै सुविधाका सीटहरुको व्यवस्था गरिएको थियो। युरोप कस्तो छ, त्यो त थाहा भएन तर दिल्ली एयरपोर्ट जाने मेट्रो रेल चढेपछि विकासको उच्चतम रुप महसुस गरेँ।
अर्काे दिन मेरो यात्रा चण्डीगढसम्मको थियो। बसमा जाने भनेर बसपार्क गएँ। तर, हरियाणा बन्द भएकाले रेलकै रात्रिकालिन यात्रा गर्नुपर्ने भयो। मैले राती ८ बजेको टिकट लिएँ। तर रेल राती ११ बजेमात्र आयो। त्यो रेल स्टेसन निकै दुर्गन्धीत थियो। जथाभावी पान–पराग खाएर थुकेको, फोहर गरेको, खाना फालेको, लिकमा जताततै फोहर। दिल्ली सम्झिएर मन खिन्न भयो।

भारतमा धेरैजसो पैसावालहरुलाई एसी र अन्य सुविधासहितको डब्बा, त्यसपछि सिंगल बेडसहितको एसी डब्बा, रिजर्बेसन डब्बा र जनरल गरेर ४ थरी डब्बाको व्यवस्था गरिएका रेल धेरै गुड्दारहेछन्। सुविधा सम्पन्न डब्बामा भाडा पनि त्यत्तिकै महंगो रहेछ। रिजर्वेसन डब्बाको एउटा सीटमा एक जना मात्रै यात्रुका लागि टिकट दिइन्छ। बसे पनि भयो, सुते पनि भयो। तर भीडले त्यसो गर्न पाउने सम्भावना थोरै नै हुनेरहेछ। जनरल टिकटमा त यात्रुको कुनै नियन्त्रण नै नहुने रहेछ। सिन्की खाँदेझै यात्रु खाँदिदाँ रहेछन्। फोहर उस्तै, ट्वाइलेट पनि दुर्गन्धित। सरुवा रोग लाग्ने सम्भावना पनि त्यत्तिकै। तर भाडा भने सुविधा सम्पन्नभन्दा तीन गुना सस्तो। जनरल डब्बामा १ सय ८ रुपैयाँमा झण्डै ३ सय किलोमिटर दिल्ली–चण्डीगढ यात्रा गरियो। चण्डीगढबाट फर्किंदा भने बसमा फर्किएँ। रेलमा फर्किएर त्यो कठिनाई फेरि पाउन मनले मानेन।

दिल्लीबाट मलाई चेन्नई जानुपर्ने थियो। रेलमै जानुपर्ने सल्लाह पाएँ। ३–४ दिन लाग्ने भयो। मसँग त्यति लामो समय थिएन। राति २ बजे इण्डिगोको जहाज चढेर बिहान ५ बजे चेन्नई पुगेँ। चेन्नई एयरपोर्ट पनि अत्याधुनिक थियो। एयरपोर्टको पारिपट्टी रहेको पहाडको हरियाली र फेंदीको आकाशे पुलमाथि कुद्ने रेल एयरपोर्टको सिसामा देखिदोरहेछ। त्यो दृश्य कम्ती मनमोहक थिएन। केही दिन चेन्नई घुम्दा थाहा भयो कि दिल्लीजस्तै त्यहाँ पनि मेट्रो रेलको निर्माणकार्य तीब्र गतिमा भइरहेको छ। एयरपोर्टमा भने आधुनिक मेट्रो रेलको जडान भइसकेको रहेछ।

चेन्नईमा मेरो सम्झनलायक धेरै क्षणहरु रहे। सबै सार्वजनिक बसहरु सरकारी थिए। एकापट्टी महिला र अर्काेपट्टी पुरुषका लागि सिटहरु छुट्याइएका थिए। काला मान्छेहरु अर्थात छालाको रंग कालो। तर उनीहरु धेरै मिजासिला, खुसी र सहयोगी। चेन्नईको सभ्यतासँग हाम्रो (नेपालीको) सभ्यता कसरी तुलना गरुँ खै ? हामीमा घमण्ड, इश्र्या मात्र छजस्तो लाग्यो मलाई उनीहरुसँग भेटेपछि। मान्छेमा हुनुपर्ने गुण रंग होइन, सभ्यता हो भन्ने कुरा मलाई चेन्नईले सिकायो।

अब मलाई नेपाल फर्कनुपर्ने थियो। चेन्नई रेलवे स्टेसनबाट राती ९ बजेको टिकट काटेँ। केरलाबाट करिब १२ घण्टा पहिले छुटेको थियो, राप्तीसागर एक्सप्रेसको रेल। चेन्नई, गोन्डा हुँदै गोरखपुरसम्म हप्तामा ४ पटक त्यही एक्सप्रेस रेल गुड्दोरहेछ। चेन्नईबाट गोन्डासम्म आउन ३५ घण्टा लाग्ने भनिए पनि ४२ घण्टा लाग्यो। चेन्नईदेखि ४२ घण्टासम्मको रेलयात्रामा जे देखियो, त्यो पनि विभिन्न कारणले अविष्मरणीय रह्यो। मेरो वेटिङ टिकट थियो। जसमा कुनै सिट नम्बर लेखिएको हुँदैन। यदि कुनै यात्रुले टिकट क्यान्सील गर्‍यो भने पाइने, नत्र कसैको छेउ लागेर, अनुनय विनय गरेर यात्रा गर्नुपर्ने।

मेरो हालत खराब भयो। न कसैले टिकट क्यान्सील गर्यो न कसैको छेउ लाग्न नै पाइयो। दिउँसो त जेनतेन बस्न पाइन्थ्यो तर, जब रात पथ्र्यो सीट लिएकाहरु मस्तसँग सुत्थे। सीट नलिएकाहरु उभिनुपर्ने वा सीटमा अडेस लागेर बस्नुपर्ने बाध्यता थियो। ७२ सीटको डब्बामा करिब २ सय मान्छे कोचिएका थिए। भुईं तलामा सीट लिएकाहरुलाई पनि सुख थिएन। सीट नभएकाहरुले अडेस लागेर, बसिदिएर हैरान पारिहाल्थे। भुईभन्दा माथि दोस्रो र तेस्रो तलामा सीट लिएकाहरुले भने त्यो झन्झट कम व्यहोर्नुपर्थ्याे ।

हरेक स्टेसनमा रेल रोकिन्थ्यो। केही यात्रु झर्थे, केही चढ्थे। जनरल डब्बामा कुनै नियम लागु भएको देखिएन। रिजर्बेसन डब्बाको हालत पनि राम्रो थिएन। सस्तो जनरल टिकट काटेका धेरै यात्रुहरु रिजर्बेसन डब्बामा आउने रहेछन्। यदि कुनै स्टेसनमा टिकट चेक भएन भने भइहाल्यो, चेकिङ भयो भने जरिवाना तिर्नुपर्ने। २०–३० घण्टासम्म उभिनु वा कतै अडेस लागेर यात्रा गर्नु कम्ती कठिनाइको कुरा होइन।
प्रत्येक स्टेसनमा तेस्रो लिंगीहरुको प्रवेश हुन्थ्यो। उनीहरु ठूलाठूला ज्यान भएका पनि हुन्थे। प्रत्येक यात्रुसँग १० रुपैयाँ माग्थे। नदिएमा थर्काउने, शरीर मुसार्ने, संवेदनशील अंगमा हात लैजाने गर्थे।
मैले रेलमै तीन जनाको टिम बनाएको थिएँ, सबै नेपाली। तिनीहरुलाई कुनै पनि हालतमा पैसा नदिने, उनीहरुले गालीगलौज वा शरीरमा हात लगाए भने प्रतिकार गर्ने भनेर सल्लाह गरेका थियौं। यसरी हामीले उनीहरुलाई एक रुपैयाँ पनि दिएनौँ।

प्रत्येक स्टेसनमा १० रुपैयाँ दिनुपर्ने भएपछि सयौं यात्रुबाट भाडा भन्दा धेरै पैसा त उनीहरुले नै लगिदिने रहेछन्। भारतीय रेल तेस्रो लिङ्गीहरुले आतंक मच्याउने ठाउँ रहेछ। त्यसबाहेक मगन्तेहरुको त कुरै छाडौँ।

भारतीय रेलमा खैनी र गुट्खा त सामान्य हो। स्टेसन होस् कि रेल। जतासुकै खैनी र गुट्खा खाएर थुकेको टाटा देखिन्थ्यो। रेलमा पनि गुट्खा बेच्नेहरु नै धेरै आउँथे। ट्वाइलेटमा पानी सकिनु सामान्य नै हुनेरहेछ। सबै डिब्बाका ट्वाइलेटहरु दुर्गन्धित थिए। त्यो दुर्गन्ध एसी डिब्बाबाहेक सबै भागमा पुग्थ्यो।

लामो यात्रामा भएकाले खाना पनि त्यही रेलमै हुने भइहाल्यो। होटलमा जस्तै खाना अर्डर लिने व्यक्तिहरु प्रत्येक सीटमा आउने गर्थे। खाना, रोटी, तरकारी जे खाने हो, अर्डर गरेपछि बिहान र साँझ खान पाइने रहेछ। दिउँसो खाजा पनि पाइने रहेछ। चिया त ल्याइरहन्थे। त्यसबाहेक प्याकेटका खाजाहरु बेच्ने मान्छेको घुइचो पनि उत्तिकै हुन्थ्यो। एउटा स्टेसनबाट अर्काे स्टेसनसम्म त्यस्ता व्यक्तिहरु चढेर आफ्ना सामानहरु बिक्री गर्थे।

महिलाहरुले प्याकेटका खाना, घडी, पर्स, चार्जर, इयरफोन, ऐना, कस्मेटिकका सामान बेच्न ल्याउने गरेको देखियो। उनीहरुले त्यति भिडभाड भएको रेलमा गरेको मेहनत हेर्दा लाग्थ्यो, श्रम गर्ने महिला र पुरुषको कमाइको सम्पूर्ण स्रोत यही अस्तव्यस्त रेल थियो। उनीहरले त्यही रेललाई आफ्नो कर्मभूमि बनाएका थिए।

मलाई भारतीय रेलहरु गरिब कोच्ने च्याम्बर जस्तो लाग्यो। जुन च्याम्बरमा चढेपछि कम्तीमा हावामा बग्ने अक्सिजन खाएरै सयौं, हजारौं किलोमिटर यात्रा गर्नुपर्ने।

कुनै पनि रेलको सूचना पाउन कठिनाइ भने व्यहोर्नुपर्दैन। ‘होयर इज माइ ट्रेन’ भन्ने एप्लीकेसन डाउनलोड गरेपछि कुन नम्बरको रेल कहाँ छ, कतिबेला कुन स्टेसनमा पुग्छ भन्ने सबै जानकारी पाइन्छ। हुन त त्यो कुनै भरपर्दाे समय होइन, ट्राफिक जामको कारण लामो रुटमा तीन चार घण्टा नै फरक पर्न सक्छ। तैपनि त्यो प्रविधिले यात्रुहरुलाई धेरै सहज बनाइदिएको छ। कहिलेकाहीँ १२ घण्टासम्म रेल ढिला हुने रहेछ। त्यो अवस्थामा मोबाइल एप्लिकसेनले धेरै सहज बनाइदिएको छ।

भारतीय रेलमा दुःखी नेपालीको वर्णन गर्ने शब्दहरु भन्दा आँखाले देखेका दृश्यहरु नै शक्तिशाली छन्। चैन्नईमा घरेलु सामान कोचिएका झोला, डिब्बा बोकेर रेल चढ्न आतुर मजदुर देखेरै मेरो मन अमिलो भइसकेको थियो। उनीहरु घर फर्किनुपरेकोमा खुसी थिए। तर त्यो पीडापछिको खुसी थियो। मैले चेन्नईमा धेरै मजदुरसँग भेट गरेको थिएँ। होटलमा श्रम गर्ने, चौकीदारी यस्तै–यस्तै काममा हजारौं नेपालीले श्रम गर्दारहेछन्। 

उनीहरुलाई देखेर मेरो मनमा केही नेपाली गीतहरु नाच्न थाले। रेलैमा फरर के हो– मायालाई दिएको रुमाल। आमा रुँदै गाउँवेशी मेलैमा– छोरो रुँदै गोरखपुर रेलैमा। म त भोली गइहाल्छु लाहुर– सरररर गोरखपुर रेलैमा। रेलले उडायो– जाने मन थिएन दिल्ली पुर्‍यायो। छकछक आइपुग्यो रेल– बाह्र बजे जुनेली रातैमा। पर्ख पर्ख मायालु म पनि त आउँला– रेलको झ्याल समाएर संगै भागौंला। रेलै घुमेर– गयो बहिनीको आधी उमेर।

भारतीय रेल कम्पनीमा लाखौँ मानिसले रोजगारी पाएका छन्। यो भारतको धेरै ठूलो उद्योग पनि हो। भारतको प्रमुख यातायात रेल नै हो। ६०–७० डब्बा भएका मालबाहक रेलले मालसामान ओसारिरहेका हुन्छन् भने यात्रुबाहक रेलले मान्छे ओसारिरहेका हुन्छन्। भारतीय रेलमा सिंगो भारतीयहरुको जीवन, चित्र र चरित्र भेटिन्छ। मेट्रो रेलदेखि लामो दूरीका रेलहरुमा यात्रा गर्ने हो भने भारतीय जीवनशैली हेर्न सहरहरु चहार्नुपर्दैन।

साउन २५, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .