ad ad

सुदूरपश्चिम


सिक्दै कमाउन इजरायल गएका १० जना फर्किएनन्, दसैँको मुखमा स्तब्ध सुदूरपश्चिम

टीकापुर कृषि क्याम्पसका तत्कालीन डीन भन्छन्– सुख क्षणभरमै समाप्त भयो
सिक्दै कमाउन इजरायल गएका १० जना फर्किएनन्, दसैँको मुखमा स्तब्ध सुदूरपश्चिम

गोकुल जोशी
असोज २२, २०८० सोमबार १६:७, कञ्चनपुर

टीकापुर कृषि क्याम्पसका तत्कालीन डीन लालप्रसाद अमगाईं ४९ जना विद्यार्थीलाई पढाइसँगै आम्दानी गर्न इजरायल पठाउँदा निकै खुसी थिए। विद्यार्थीको विदाइमा उनी जान पाएनन्। 

भदौ २८ मा अमगाईंको कृषि क्याम्पसमा कार्यकाल सकिएको थियो। विद्यार्थीलाई पढाइ र कमाइको लागि इजरायल पठाउँदाको अमगाईंको त्यो खुसी एक महिना पनि टिकेन।

नेपाली विद्यार्थी इजरायल पुगेको एक महिना नपुग्दै प्यालिस्टिनी विद्रोही समूह हमासको आतंककारी हमालामा परेको दुःखद खबरले उनी विक्षिप्त छन्।

‘आफ्ना विद्यार्थी इजरायल जाँदा निकै हर्षित थिए, एक महिनामै यस्तो दुःखद खबर सुनियो,’ अमगाईंले नेपालखबरसँग भने, ‘सुख क्षणभरमै समाप्त भयो।’

बीएससी एग्रिकल्चरको पढाइ सकेर नेपाली विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका हुन्। सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक विद्यार्थीलाई विदेश पठाएको थियो। 

त्रिभुवन विश्वविद्यालय र कृषि र वन विश्वविद्यालयले केही वर्षयता ‘लर्न एण्ड अर्न’ कार्यक्रममा विद्यार्थीलाई इजरायल पठाइरहेको थियो। सुदूरपश्चिम विश्वविद्यालयले गत वर्ष इजरायली दूतावासमा यो कार्यक्रममा आफूहरू पनि विद्यार्थी पठाउन इच्छुक रहेको भनेर चिठ्ठी लेखेको थियो।

त्यसपछि इजरायली राजदूत हनान गोदेर मंसिर ७ गते टीकापुर कृषि क्याम्पसमा आएर विद्यार्थीसँग अन्तक्रिया गरे। राजदूतले विद्यार्थी राम्रा रहेकोले आफूहरू इजरायलमा प्रयोगात्मकका लागि पठाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए। 

राजदूत २/३ पटक नै टीकापुर आएका थिए। विश्वविद्यालयले दिएको निवेदन वैशाख २२ गते स्वीकृत भयो। इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँग सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका हुन। 

वैशाख २२ गते सेडट नेगेभ कलेजले राजदूतावासमार्फत ५० जना विद्यार्थीका लागि विश्वविद्यालय छनोट भएको भनेर पत्र पठाएको थियो। त्यसपछि जान इच्छुक विद्यार्थीका लागि कलेजले सूचना जारी गरेको थियो।

पहिलो पटक जारी भएको सूचना ५० जनाको मात्रै निवेदन परेको थियो। त्यसपछि दोस्रो पटक कलेजले सूचना निकालेको थियो।

‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल जान ५६ जना विद्यार्थीको आवेदन परेको थियो। राजदूत, कलेजका प्रतिनिधिलगायत आएर जुलाइ ५ तारिखमा विद्यार्थीहरूको अन्तवार्ता भएको थियो। 

नतिजा आउँदा ५ जना वैकल्पिकमा परे। अन्तर्वार्ता उर्तिण गरेका ४ जान इजरायल गएनन्। उनीहरूको ठाउँमा वैकल्पिकमा परेकाहरूले स्थान पाए।

भदौ २५ गते १५ र २६ गते ३४ जना गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल उडेका थिए। उनीहरू त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको ठाउँमा पठाइएका थिए।

त्रिभुवन विश्वविद्यालयका करिब एक सय जना विद्यार्थी दुई साताअघि मात्रै इजरायलबाट फर्किएका थिए। 

इजरायलमा विद्यार्थीले कृषि सीप सिक्नुका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो।

सीप सिकेर सुदूरपश्चिमको कृषि क्षेत्रमा केही टेवा पुग्नुका साथै विद्यार्थीको आर्थिक अवस्था सुधारिने विश्वासमा विद्यार्थीलाई इजरायल पठाएको सुदूरपश्चिम विश्वविद्यालयलाई पहिलो गाँसमै ढुंगा लागेको छ।

‘सुदूरपश्चिमको कृषि क्षेत्रमा राम्रो गर्न खोजेका थियौँ, तर सोचेको जस्तो भएन,’ विश्वविद्यालयका एक कर्मचारी भन्छन्, ‘पहिलो गाँसमै ढुंगा लागेको जस्तो भयो, चाडबाड नजिकै जाँदा विदेशमा विद्यार्थीले भोग्नु परेको बिजोगले स्तब्ध छौँ।’

इजरायलमा हमास समूहको आतंककारी आक्रमण परेर १० जनाले ज्यान गुमाएका समाचारहरू सार्वजनिक भइरहरेका छन्। ज्यान गुमाउने धेरैजसो सुदूरपश्चिम क्षेत्रका छन्। सुदूरपश्चिमका साथै लुम्बिनी र कर्णाली प्रदेशका विद्यार्थी पनि आक्रमणमा परेका छन्।

शनिबार बिहानदेखि इजरायलमा हमास समूहले आक्रमण जारी राखेको छ। दक्षिणी क्षेत्रमा पर्ने गाजा नजिकको किबुज अलुमिम क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी रहेका थिए। तीमध्ये आक्रमणमा परेर १० जनाको ज्यान गएको हो।

११ महिने कार्यक्रममा गएका नेपाली विद्यार्थी इजरायलबाट अब कहिल्यै फर्किने छैनन्। 

इजरायलमा नेपाली विद्यार्थी आक्रमणमा परेको खबरले विश्वविद्यालय परिवार स्तब्ध रहेको रजिस्टार यज्ञराज पाठकले बताए। 

‘भीसी सर परराष्ट्र मन्त्रालयमै हुनुहुन्छ, सरकारबाट हामीलाई अहिलेसम्म विद्यार्थीको निधनबारे कुनै आधिकारीक जानकारी आएको छैन,’ उनले भने, ‘आतंककारी हमलामा विद्यार्थी परेको दुःखद खबरले चिन्तित बनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .