ad ad

सुदूरपश्चिम


सत्ताच्यूत भएको ४ महिनामै सुदूरपश्चिम सरकारको नेतृत्वमा कांग्रेसका कमलबहादुर शाह

दुई पटक मुख्यमन्त्री बन्ने पहिलो नेता
सत्ताच्यूत भएको ४ महिनामै सुदूरपश्चिम सरकारको नेतृत्वमा कांग्रेसका कमलबहादुर शाह

गोकुल जोशी
साउन २०, २०८१ आइतबार १७:५४, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन।

नेकपा एमालेको समर्थनमा कांग्रेसका शाहले शुक्रबार बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका थिए।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। २०७९ माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल नेतृत्वको सरकार विश्वासको मत नपाएर २९ दिनमै ढलेपछि संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाए।

माओवादी केन्द्रले फेरि एमालेसंग सहकार्य गरेपछि शाह नेतृत्वको सरकार १४ महिनामा ढलेको थियो। २०८० साल २२ चैतमा राजीनामा दिएका शाहले ४ महिनामै फेरि सत्ताको नेतृत्व गर्ने मौका पाएका हुन। 

सुदूरपश्चिमको इतिहास दुई पटक मुख्यमन्त्री बन्ने उनी पहिलो व्यक्ति बनेका छन्। 

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्। 

प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए।

२०७९ को आम चुनावपछि प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने।

१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिमको नेतृत्व नेपाली कांग्रेसले गर्ने समझदारी बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .