सुदूरपश्चिम


आफ्नो क्षेत्रमा जन्ती बस दुर्घटना भई १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

आफ्नो क्षेत्रमा जन्ती बस दुर्घटना भई १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

बैतडीमा भएको जन्ती बस दुर्घटनाका घाइते


नेपालखबर
माघ २३, २०८२ शुक्रबार १०:३६, काठमाडौँ

बैतडीको पुर्चौडी नगरपालिकाले बिहीबार बेलुका आफ्नो क्षेत्रमा जन्ती सवार गाडी दुर्घटना भई १३ जनाको ज्यान गएपछि आज (शुक्रबार) शोक बिदा दिएको छ।

प्रहरीका अनुसार बिहीबार बेलुका पुर्चौडी नगरपालिकाको वडा नम्बर ७, बडगाउँ मोडमा जन्ती बोकेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पल्टिँदा ६ जनाको घटनास्थलमै र ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृतकमा पुर्चौडी नगरपालिकाका साथै अन्य जिल्ला तथा पालिकाका बासिन्दा पनि छन्। 

घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै पुर्चौडी नगरपालिकाले आफ्नो कार्यालयसहित अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिएको हो। 

‘उपरोक्त सम्बन्धमा मिति २०८२।१०।२२ गते पुर्चौडी नगरपालिका वडा नं. ७ बडगाँउमा जन्ती सवार गाडी दुर्घटनामा परी असामयिक र दुःखद निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ। उक्त त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाउनु हुने मृतकहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँहरूको पवित्र आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै आफ्ना प्रियजन गुमाउनुपर्दाको यो गहिरो वियोग र असह्य पीडाको घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना गर्दछौँ’, नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूको सम्मानमा मिति २०८२।१०।२३ गते शुक्रबारका दिन यस पुर्चौडी नगरपालिका कार्यालय एवं यसअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णयानुसार यो जारी गरिएको छ।’

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका-७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुसार बित्थडचिर गाउँपालिका-७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको भने उपचारका क्रममा मृत्यु भएको हो। 

यस्तै डडेलधुरा अस्पताल लगिएका घाइते ५ जनाको पनि उपचारका क्रममा राति मृत्यु भएको छ।

प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो।

बस सडकबाट २ सय मटिर तल खसेको थियो। प्रहरीले बसका चालक वीरेन्द्र बुढालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad