हमासको आक्रमणमा परेर गाजा क्षेत्रमा मारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सम्झनामा चोकको नामकरण गरिएको छ।
महेन्द्रनगरस्थित ब्रह्मदेव लिंक रोडको चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको हो। महेन्द्र राजमार्गअन्तर्गत ब्रम्ह्देव लिंक रोड छुट्टिने चोक विपिन चोक नामकरण गरिएको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले बताए।
भीमदत्त नगर कार्यपालिकाले उक्त क्षेत्रलाई विपिन चोक नामकरण गर्ने निर्णय गरेको थियो। नगरपालिका र वडा कार्यालयले शुक्रबार विपिन चोक घोषणा गरि उक्त क्षेत्रमा विपिनको नाम समेत लेखेको छ।
नेपाली विद्यार्थी विपिनले इजरायलमा बहादुरी देखाएर आफू मरेपनि साथीलाई जोगाउन गरेको योगदान सम्झना राखिराख्न चोकको नाम राखिएको वडाध्यक्ष धामीले बताए।
भविष्यमा यही चोकमा विपिनका शालिक बनाउने योजना रहेको उनले बताए।
भीमदत्त नगर कार्यपालिकाले विपिनलाई शहिद घोषणाका लागि निर्णय गरेर जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस गरेको उनले बताए।
दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी विपिन जोशीको हमासको नियन्त्रणमा रहेका बेला मृत्यु भएको थियो।
इजरायल र हमासबीच युद्धबिराम पछि कात्तिक ३ गते विपिनको शव घर ल्याइएको थियो।
विपिन चोक घोषणा गर्दा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर लगायतको उपस्थिति रहेको थियो।





Shares

प्रतिक्रिया