सुदूरपश्चिममा कारागारबाट १ हजार ४ सय ६ कैदीबन्दी भागेका छन्।
जेनजी आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीहरूले कतिपय कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालेका छन्।
आन्दोलन मौका छोपेर कतिपय कारागार तोडफोड गरेर कैदीबन्दी भागेका छन्।
निषेधाज्ञा र कर्फ्यूपछि सुरक्षाकर्मीहरुले बुधबार कारागारमा पहरा दिँदै फरार कैदीको खोजी गरिरहेका छन्। फरार भएका ६९ कैदीलाई नियन्त्रणमा लिएर फेरि कारागारमा राखिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका ९ जिल्ला कारागारमा १ हजार ७ सय १ कैद भुक्तान गरिरहेका थिए। जसमध्ये १ हजार ४ सय ६ कैदीबन्दी कारागारबाट भागेका छन्।
डोटीमा रहेको बालसुधार गृहमा रहेका ५३ मध्ये ५२ जना पनि भागेका छन्। बालसुधार गृहमा एक जना मात्रै छन्।
सबैभन्दा बढी कैदीबन्दी रहेको कैलाली कारागार कैदी भागेपछि रित्तो छ। ६ सय ६७ कैदीबन्दीमध्ये ६ सय ६६ कैदी भागेका छन्। बाँकी एक जनाको उपचार भइरहेको छ।
कञ्चनपुर कारागारमा ४ सय ७९ कैदीबन्दी कैद भुक्तान गरिरहेका थिए। प्रदर्शनकारीले जेल तोडेर मंगलबार ४ सय ५८ कैदीलाई भगाएका थिए। प्रहरीका अनुसार फरार रहेका १४ कैदीलाई पक्राउ गरिएको छ। अहिले कारागारमा ३५ कैदी छन्।
सामान्य स्थिति रहेका डोटीमा ७१, अछाममा ६८ र बाजुरा कारागारमा ६५ कैदी कैद भुक्तान गरिरहेका छन्। बझाङ कारागारका ८५ कैदीमध्ये ६५ भागेका छन्। जसमध्ये ५ जनालाई सुरक्षाकर्मीले फेरि नियन्त्रणमा लिन सफल भएका छन्। अब त्यहाँ २५ जना कैदी छन्।
बैतडी कारागारका ६१ कैदीबन्दी भागेका छन्। ६२ कैदीमध्ये एक जना मात्रै जिप्रकाको हिरासत रहेको प्रहरीले जनाएको छ।
दार्चुला कारागारमा ७७ बन्दी कैद भुक्तान गरिरहेका थिए। जसमध्ये ७१ भागेका छन्। तीमध्ये ४ जनालाई नियन्त्रणमा लिएको र अहिले १० कैदी कारागारमा रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया