सुदूरपश्चिम


धरालीको बाढीपहिरोमा बिलायो नवविवाहित जोडी

धरालीको बाढीपहिरोमा बिलायो नवविवाहित जोडी

गोकुल जोशी
भदौ २, २०८२ सोमबार १६:१७, कञ्चनपुर

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२, कुडिनीका २३ वर्षीय रमेश बुढाले गत वैशाखमा विवाह गरे।

उनी कालीकोटको पलाता गाउँपालिकाकी २१ वर्षीया प्रिया बमसँग प्रेम सम्बन्धमा थिए। रमेशले प्रेमिका प्रियालाई पोहोर दसैँतिर भगाएका थिए। 

वैशाखमा मात्रै उनले परम्पराअनुसार धुमधाम बिहे गरे। उनीहरूको बसाइँ बर्दियाको राजापुरमा पनि थियो। बिहेपछि पैसा कमाउन दुवै भारतको उत्तराखण्ड गए।

उत्तराखण्डको उत्तरकाशी, धरालीमा मजदुरी गर्दै थिए। दुवै काम गर्ने हुनाले कमाइ पनि राम्रै भइरहेको थियो।

तर, नवविवाहित बुढा दम्पती २० साउनमा आएको भीषण बाढी-पहिरोमा पुरिए। उनीहरूको खोजी कार्य जारी रहे पनि अझै अवस्था अज्ञात छ। 

स्वामीकार्तिक खापर गाउँपालिका–२ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार बिहानैदेखि पानी परिरहेकोले त्यस दिन रमेश र उनकी पत्नी प्रिया काममा गएका थिएनन्। कोठामै बसेका थिए। अचानक लेदोसहित आएको भीषण बाढीले उनीहरू बसेको घरै पुर्‍यो।

‘अझै अवस्था अज्ञात छ। लास भेटिएको छैन,’ वडाध्यक्ष बुढाले भने, ‘भेटिने सम्भावना पनि न्यून छ।’

रमेशका बुवा ६५ वर्षीय मिमबहादुर दमका बिरामी छन्। छोरा-बुहारी बेपत्ता हुँदा बिरामी बुवा झन् थलिएका छन्।

परिवारको सहारा गुमाउँदा वृद्ध आमाबुवालाई वज्रपात भएको छ।

रमेशले कक्षा १२ सम्मको पढाइ बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयबाट गरेका थिए। उनले शिक्षक बन्ने सपना बुनेका थिए। शिक्षक अनुमतिपत्र पनि प्राप्त गरिसकेका थिए। तर, बिहेपछि घर खर्च जोहो गर्न श्रीमतीसँगै उत्तराखण्ड गए। अनि, शिक्षक बन्ने सपना श्रीमतीसँगै धरालीमा अलप भएको छ। 

स्वामीकार्तिकका २४ घाइते
धरालीको बाढीपहिरोमा मजदुरी गर्न गएका स्वामीकार्तिक खापर गाउँपालिकाका २४ जना घाइते भएका छन्।

घाइते हुनेमा वडा नं १ का ३६ वर्षीय प्रकाश बुढा, २४ वर्षीया पछना बुढा, २७ वर्षीय धन बुढा, २८ वर्षीय महेन्द्र महतारा र जयन्द्र बुढा छन्। 

यस्तै वडा नं २ का पसे बुढा, दिनेश बुढा, मानबहादुर बुढा, रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, वीर बुढा र वर्षनी बुढा पनि घाइते छन्।

७ महिने बालिका अपसरा बुढा, ३ वर्षका बादल बुढा, २९ वर्षका मादप महतारा, विपना बुढा, ३४ वर्षका दीपेन्द्र महतारा, ३० वर्षका मानबहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad