सुदूरपश्चिम


कैलाली कारागार घटनापछि सीडीओसँगै जेलर पनि फेरिए

कैलाली कारागार घटनापछि सीडीओसँगै जेलर पनि फेरिए

नेपालखबर
साउन २९, २०८२ बिहिबार १४:४२, कञ्चनपुर

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल गृह मन्त्रालय तानिएका छन्। कारागारको घटनापछि हमाल मन्त्रालय तानिएका छन् भने कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दाङका सीडीओ कृष्णप्रसाद लम्सालले पाएका छन्। 

गृह मन्त्रालयले लम्साललाई हमालको ठाउँमा सीडीओ पठाएको हो। कैलालीका सीडीओ हमालको बुधबार गृहमा सरुवा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

उनका अनुसार नयाँ सीडीओ लम्साल बिहीबार साँझसम्म वा शुक्रबारसम्म कैलाली आइपुग्ने छन्। 

गएको शुक्रबार मध्यराति कारागारमा ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गरेका थिए। त्यस हिंसात्मक झडपमा धनगढीका ४० वर्षीय भारत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते भएका थिए। 

कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्रीलाई पनि सरुवा गरिएको थियो। घटनाका बेला खत्री बिदामा थिए। नयाँ जेलरमा जालन्धर भुसाल आएका छन्। 

कारागार घटनामा सुरक्षा संयन्त्र चुकेको आरोप छ। पटक पटक कारागारमा विवाद हुँदा पनि साम्य पार्न नसकेको र सुरक्षा व्यवस्थापन गर्न चुकेको आरोप छ। 

कैलाली कारागारको विषयमा १९ साउनमा मानव अधिकार आयोगले जिल्लाको सुरक्षा सयन्त्र, गृहमन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएको थियो। 

कारागारका ५९० कैदीले संयुक्त हस्ताक्षर गरेर आयोगमा निवेदन दिएपछि कारागार प्रशासन र कैदीबन्दीहरूको आन्तरिक प्रशासनबीचको सम्बन्धका कारण देखिएका समस्याको समाधान खोजी, कारागार व्यवस्थापनमा सुधार, कारागारभित्र कानून विपरितको आर्थिक लेनदेन र अनियमितता, कारागार प्रशासनबाट चौकीदार नाइके समेतको समन्वय तथा जानकारी बेगर कानूनी प्रक्रिया विपरित कैदीबन्दीहरूलाई बाह्य व्यक्तिहरूसँग सम्पर्क गर्न लगाइ मनमुटाव मुठभेडको अवस्था सृजना गर्न खोजिएको भन्दै आयोगले ध्यानाकर्षण गराएको थियो। 

कारागारभित्र लागुऔषध बिक्री वितरण तथा तस्करी गर्ने गरी भइरहेको योजना, कारागारको आन्तरिक व्यवस्थापनका लागि बन्दीहरूमध्येबाट चौकीदार, नाइके, भाइ नाइके चयन बन्दीहरूको सहभागितामा पारदर्शी ढंगबाट हुनुपर्ने, कैदी स्थानान्तरणको विषय परिवारलाई जानकारी हुनु पर्ने भन्दै बन्दीहरूले आयोगमा निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad