गत साता दुई दिनको अन्तरालमा बाजुराको बडीमालिका दर्शनमा गएका २ तीर्थालुले ज्यान गुमाए।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडीमालिकाको तीर्थयात्रामा गएका दुई जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको हो।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझा भिरमा बिलाए। साउन २२ गते राति करिब ८ बजे बडीमालिका मन्दिरको दर्शन गरी नाटेश्वरी धामतर्फ जाँदै गर्दा उनी चिप्लिएर करिब ७०० मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।
अक्करे भिरमा खसेका उनको शव अर्को दिनको बेलुका मात्रै निकाल्न सकियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धारमा खटिएको थियो।
अर्का तीर्थालु बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोरासैनीले पनि पनि ज्यान गुमाए। बडीमालिका दर्शन गरेर फर्कने क्रममा साउन २३ गते उनी करिब ३०० मिटर तल भीरबाट खसेका थिए। उनको शव शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निकालेको थियो।
भौगोलिक विकटता र कठिन चट्टानी भू–भागका कारण सुरक्षाकर्मीलाई शव निकाल्न हम्मेहम्मे परेको थियो। यी उदाहरण घटना मात्रै हुन, वर्षेनी यस्ता दुर्घटनामा भइरहेका छन्। बडीमालिकाको यात्रा निकै कठिन र जोखिमपूर्ण छ।
हरेक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालुहरू कठिन पैदल मार्ग पार गर्दै दर्शनका लागि पुग्ने गर्दछन्। वर्षेनी बडीमालिकामा पुग्ने पर्यटक तथा तीर्थालुको संख्या बढ्दो छ। भौगोलिक विकटता र सडक सञ्जालको सहज पहुँच नहुँदा बेला बेलामा दुर्घटना पनि भइरहन्छन्।
बडीमालिका नगरपालिकाको केन्द्र मार्तडीबाट बडीमालिका पुग्ने असहज र परम्परागत बाटो छ।
मार्तडीबाट तीन दिनको पैदल यात्रापछि बडीमालिका पुग्न सकिन्छ। मार्तडीबाट सबेरै हिँडेर बेलुकीको बास सोतामा बस्नु पर्ने हुन्छ। सोतासम्म कच्ची ग्रामीण सडक पनि छ। तर वर्षात्मा चिप्लो हुनाले सवारी चल्दैनन्। अर्को बेलुका त्रिवेणीधाम बास बसेर त्यसपछि तेस्रो दिन बडीमालिकाको दर्शनको लागि पुगिन्छ।
बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष सूर्यकिरण विकका अनुसार मार्तडीको बाटो सहज छ। ‘उकालो ओरालो त छन्। तर नाटेश्वरीको जस्तो कठिन र जोखिमपूर्ण छैन, मार्तडीको बाटो,’ उनले भने, ‘धेरैले प्रयोग गर्ने बाटो यही हो।’

जनैपूर्णिमामा नाटेश्वरीमा पूजाआजा र बलि चढाउने गरिन्छ। बडीमालिका दर्शन गरेपछि तीर्थालु नाटेश्वरीको पनि दर्शन गर्न पुग्छन्।
नाटेश्वरीबाट तल झर्दा निकै भिरालो बाटो हुनाले दुर्घटनाको जोखिम हुने गरेको विक बताउँछन्।
‘भिरपाखा छन्। चिप्लो धेरै हुन्छ। कुहिरो लागेर केही देखिँदैन। त्यसमा राति यात्रा गर्दा जोखिम हुन्छ,’ उनले भने, ‘कुहिरोले आफ्नो अगाडिको मान्छे देखिन मुश्किल पर्छ। त्यसैले वर्षेनी बाटो बिर्सिने र हराउने तथा दुर्घटना भइरहन्छन्।’
यसपटक करिब ५० हजार तीर्थालु बडीमालिकाको दर्शन गरेको बडीमालिका नगरपालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापाले बताए। मार्तडी भएर जाने बाटोमा विश्रामका लागि प्रदेश र स्थानीय सरकारले खर्क स्टेसन पनि बनाएका छन्।
गत वर्ष बडीमालिका नगरपालिकाले डेढ करोडको बजेटमा मार्तडीबाट सोतासम्मको सडकको ट्रयाक खोल्ने काम गरेको छ। यसवर्ष संघ सरकारले बडीमालिकाको बाटो स्तरोन्नतीका लागि ३ करोड बजेट विनियोजन गरेको छ।
‘सोतासम्म बाटो पुगेको ५ वर्ष भइसक्यो। गत वर्ष पालिकाले स्तरोन्नति गरेको थियो,’ वडाध्यक्ष थापाले भने, ‘नाटेश्वरीको बाटो कठिन उकालो र ओरालो हुनाले जोखिमपूर्ण हुन्छ।’
यसवर्ष मार्तडी भएर जाने सडकअन्तर्गत पर्ने घोडापाटनको दोगडे नदीमा झोलुङे पुल निर्माण गर्ने तयारी छ। जसले एक घण्टाको पैदल यात्रालाई १५/२० मिनेटमा छोट्टयाउने छ।
पुस माघ बाहेक अन्य महिनामा पर्यटक तथा तीर्थालु बडीमालिका दर्शनका लागि पुग्ने गरेका छन्।
Shares

प्रतिक्रिया