बैतडीको सिगास गाउँपालिका-४ निवासी स्वास्थ्यकर्मी जानकी पुजाराको मोबाइलमा केही दिनयता बारम्बार घन्टी बजिरहेको छ।
बुधबार दिनभर पनि उनलाई फोन आइरह्यो। तर काममा व्यस्त भएकाले थुप्रै कल उठाउन सकिनन्।
काम सकेर बिदा हुनै लाग्दा बेलुकी फेरि फोन बज्यो। उनले उठाइन्।
आवाज आयो, ‘नमस्कार! म स्वास्थ्यमन्त्री प्रदीप पौडेल।’
सुरुमा जानकीलाई विश्वासै लागेन। उनले साथीहरूले मजाक गरेका हुन् कि भन्ने सोचिन्।
तर मन्त्री पौडेलले स्याबासी दिँदै प्रशंसा गरेपछि भने उनलाई विश्वास भयो।
घन्टौँ कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान जोगाएकाले मन्त्री पौडेलले नै जानकीको त्यसरी तारिफ गरेका हुन्।
मन्त्री पौडेलले जानकीलाई ‘भगवान्सरह’ भूमिका खेलेको भनी बधाई दिए।
जानकी सिगास गाउँपालिका-४, स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी (स्वास्थ्यकर्मी) अनमी हुन्।
२० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले स्वास्थ्य सेवा केन्द्र कान्धार पुर्याए।
स्वास्थ्यका सबै सूचक सामान्य थिए। राति साढे ९ बजे उनले शिशु जन्माइन्।
अनमी जानकीका अनुसार शिशुको अवस्था भने सामान्य थिएन।
‘शिशु रुने, हात खुट्टा चलाउनेलगायत लक्षण देखिएन। श्वास निकै सुस्त चलिरहेको थियो। शिशुको अवस्था निकै नाजुक थियो,’ उनले भनिन्।
शिशुलाई तत्काल अस्पताल लैजानुपर्ने थियो। यसका लागि माथिल्लो निकायमा पहल गरिदिन उनले पालिकाको स्वास्थ्य शाखालाई अनुरोध गरिन्।
रातिको समय भएकाले तत्काल हेलिकप्टर आउन सक्ने अवस्था थिएन। बिहान मात्रै हेलिकप्टर आउनसक्ने जानकारी आयो। सडकबाट पनि अस्पताल लान सजिलो थिएन। कच्ची सडकबाट अस्पताल पुग्न ४ घण्टा लाग्थ्यो।
कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ती शिशुको उपचार गर्ने किसिमका स्रोतसाधन थिएनन्। शिशुलाई कृत्रिम श्वास दिनुपर्ने थियो।
‘निकै गाह्रो अवस्था थियो। अरू केही विकल्प नचलेपछि आफैँले श्वास दिएँ। २० मिनेटको प्रयासपछि शिशुको छाती फुलेको, घ्यारघ्यार आवाज गरेजस्तो महसुस गरेँ’, जानकी भन्छिन्, ‘लगातार श्वास दिँदै गएँ। बिहान साढे ३ बजेतिर शिशु रोयो र हातखुट्टा चलायो।’
स्रोतसाधन नभए पनि यसरी शिशुको ज्यान जोगाएपछि जानकीको चौतर्फी प्रशंसा भइरहेको हो। अहिले शिशुको अवस्थामा सामान्य छ।
‘नवजात शिशुलाई श्वास दिएको पहिलोपटक हो। निकै संघर्ष गरेर ज्यान जोगाउन सफल हुँदा निकै खुसी लागेको छ,’ उनले भनिन्, ‘निकै चुनौती पनि थियो। बच्चालाई केही भइदिएको भए, गाह्रो पर्न सक्थ्यो। सबैतिरबाट प्रशंसा पाउँदा हौसला बढेको छ।’
आमा र शिशु डिस्चार्ज भएपछि जाँचका क्रममा घर गएका बेला तेस्रो दिन भिडिओ खिचेर उनले आफ्नो फेसबुकमा सेयर गरेकी छन्।
जानकी ६ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य सेवामा छिन्।
स्वास्थ्यमन्त्री पौडेलले जानकीजस्ता स्वास्थ्यकर्मीहरूप्रति श्रद्धा प्रकट गर्दै भनेका छन्, ‘सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीहरूप्रति मेरो हृदयदेखि नै सम्मान छ। देशलाई साँच्चै तपाईंहरूजस्तै स्वास्थ्यकर्मीको खाँचो छ। तपाईंहरूको योगदानको पक्कै मूल्यांकन हुनेछ।’
स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पौडेलले विशेषगरी विकट तथा दुर्गम स्थानमा सेवा दिइरहेका स्वास्थ्यकर्मीको योगदान अमूल्य रहेको बताएका छन्।
Shares

प्रतिक्रिया