सुदूरपश्चिम


निर्मला पन्त मारिएको ७ वर्ष पूरा, त्यतिबेला रमेश लेखकले भनेका कुरा

१२४ जनाको डीएनए परीक्षण, ६५५ व्यक्तिसँग सोधपुछ तर पनि पत्ता लागेन अपराधी
निर्मला पन्त मारिएको ७ वर्ष पूरा, त्यतिबेला रमेश लेखकले भनेका कुरा

निर्मला पन्तलाई न्याय माग गर्दै घटना बेला गरिएको विरोध प्रदर्शनका क्रममा ब्यानरमुनि कांग्रेस नेता रमेश लेखक


गोकुल जोशी
साउन १०, २०८२ शनिबार १२:४९, कञ्चनपुर

गत वर्ष असार ३१ गते नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बने। अब भने उनको गृहनगरकी निर्मला पन्तका हत्यारा पत्ता लाग्ने विश्वास थियो। 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त बलात्कारपछि मारिँदा न्यायका लागि लेखक पनि सडकमा उत्रिएका थिए।

त्यतिबेला प्रतिपक्षी दलमा रहेका लेखकले हत्याराले सरकारबाटै संरक्षण पाइरहेको भनी विरोध गरेका थिए। 

लेखकले त्यतिबेला भनेका थिए, ‘दोषीमाथि कारबाही नहुनुले सम्बन्धित निकायको अक्षमता र सरकारको संवेदनहीनता प्रमाणित हुन्छ।’ 

आज उनै लेखक अनुसन्धान गर्ने प्रहरी-प्रशासन चलाउने गृह मन्त्रालयको नेतृत्वमा पुगेको वर्ष दिन बितिसकेको छ। तर पनि निर्मला बलात्कार/हत्यामा संलग्न पत्ता लाग्न सकेका छैनन्।

निर्मला मारिएको ७ वर्ष पूरा भइसकेको छ। 

२०७५ आजकै दिन अर्थात् साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्। 

निर्मला पन्तको घर

यस अवधिमा ५ गृहमन्त्री र त्यति नै संख्यामा प्रहरी प्रमुख बनिसके। तर अपराधी पहिचान हुने सकेको छैन।

छानबिनका लागि कति समिति बनाइए, अनुसन्धानमा थुप्रै प्रहरी अधिकृत खटिए तर आजसम्म निष्कर्षमा पुग्न सकिएको छैन। 

निर्मलाको न्यायको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको ज्यानै गयो।

निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।

घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान जारी नै रहेको दाबी प्रहरीले गरिरहेको छ।

यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयानलगायत काम गर्‍यो। र, पनि अझै अपराधी अज्ञात छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत कञ्चनपुर पुगेर अनुसन्धानमा खटियो। 

सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र घटना रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ।

निर्मलाको हत्या हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए। त्यसपछि कांग्रेसका बालकृष्ण खाण हुँदै रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्वमा पुगे। 

पहिलोपटक गृहमन्त्री बन्दा लामिछानेले पहिलो निर्णय नै निर्मला हत्याका दोषी पत्ता लगाई कारबाही गर्ने थियो। 

तर उनी दोस्रोपटक गृहमन्त्री बनेर बाहिरिँदा पनि घटनामा संलग्न अपराधी पत्ता लागेन। 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेका थिए। 

उनी बाहिरिएयता कांग्रेस नेता रमेश लेखक गृहमन्त्री छन्। 

निर्मला लेखककै निर्वाचन क्षेत्र कञ्चनपुर-३  की बालिका हुन्।

सात वर्ष बितिसक्दा पनि छोरीका हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवी पन्त निराश भइसकेकी छन्। 

निर्मलाकी आमा दुर्गादेवी पन्त

‘पालोपालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइन। अब कसैमा विश्वास छैन,’ उनले नेपालखबरसँग दु:खेसो गरिन्, ‘अब न्याय पाउने आशै मरिसक्यो। पहिले-पहिले त प्रहरी आउँथे अचेल त कोही पनि आउँदैनन्।’

अनुसन्धान क्रममा हालसम्म प्रहरीले १२४ जनाको डीएनए परीक्षण तथा ६५५ जनासँग सोधपुछ गरिसकेको छ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरीलगायत १२४ जनाको डीएनए परीक्षण गरिएको हो। तर घटनामा संलग्नता पुष्टि गर्ने रिपोर्ट कसैको आएन। 

‘घटनाको गहिरो तरिकाले अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको छ। निष्कर्षमा पुगिसकेका छैनौँ,’ कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad