सुदूरपश्चिम


सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीका दुई पक्षबीच झडप, भाँडियो स्ववियु चुनाव

सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीका दुई पक्षबीच झडप, भाँडियो स्ववियु चुनाव

गोकुल जोशी
साउन ६, २०८२ मंगलबार १७:१७, कञ्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ।

स्ववियू निर्वाचनसम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी झडपको भएको हो।
 
झडपपछि मंगलबार तोकिएको मनोनयन दर्ता स्थगित भएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म मनोनयन दर्ता प्रक्रिया स्थगित भएको निर्वाचन अधिकृत कर्णदेव भट्टले बताए।

स्वतन्त्र विद्यार्थीहरुले संशोधित नियमावली खारेज, निर्वाचन प्रक्रिया समावेशी र निष्पक्ष हुनुपर्ने र निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले सोमबार निर्वाचन कार्यालयमा ताला लगाएका थिए। मंगलबार उक्त ताला तोडिएपछि विवाद हुँदा झडपको स्थिति सृजना भएर चुनावी प्रक्रिया दोस्रो पटक भाँडिएको हो। 

साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचनको मिति तोकिएको छ। विद्यार्थीबीचको झडपमा ३ जना विद्यार्थी घाइते भएका छन्। झडपले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा केही समय निकै तनावको स्थिति सृजना भएको थियो। 

यो घटनापछि मंगलबार नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ। ‘एकपक्षीय ढंगले संशोधन गरिएको निर्वाचन नियमावली खारेज हुनुपर्छ, निष्पक्ष निर्वाचनको वातावरण बन्नुपर्छ,’ स्वतन्त्र विद्यार्थी सुरेन्द्र विष्टले भने, ‘कुनै व्यक्ति विशेषलाई ल्याउन नियमावली नै संशोधन भएको छ।’ 

उनका अनुसार गत वर्ष विश्वविद्यालयका आंगिक क्याम्पसमा पुरानै नियमावली अनुसार निर्वाचन भएको थियो। उक्त नियमावली अनुसार विद्यार्थीको अध्ययन सकिएसंगै स्ववियूको कार्यकाल पनि सकिने व्यवस्था थियो। 

तर अहिले सशोधन गरिएको नियमावलीमा भने अध्ययन सकिएपनि स्ववियू कार्यकाल भने निर्धारित समयमै सकिने व्यवस्था गरिएको छ। जुन २०८१ फागुनमा विरश्वविद्यालयको सिनेटले सशोधन गरेको हो। 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्द्र साउँदले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रशासनसंग छलफलमा बसिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले पेट्रोल छर्केपछि झडप भएको बताए। उनले प्रहरीले समेत नेविसंघका विद्यार्थीलाई छानी छानी कुटपीट गरेको आरोप लगाए।

अनेरास्ववियु क्रान्तिकारीका गणेशराज मिश्रले स्वतन्त्र विद्यार्थीका नाममा नेविसंघले चुनाव भाँड्न खोजेको आरोप लगाए। उनले विगतमा पनि नेविसंघले नै निर्वाचन भाडेको आरोप लगाएका छन्। 

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै विनाकारण तालाबन्दी गरेर विद्यार्थीले प्रतिनिधि छान्ने अधिकार कुण्ठित गरेको आरोप लगाएको छ। मनोनयन दर्ताका दिन सरोकारवालाको सहमतिमै ताला तोडेर निर्वाचन प्रक्रिया अघि बढिरहेकै बेला नेवि संघ र अखिल क्रान्तिकारीले चुनाव भाडने मनसायले एक आपसमा झडप  गरेको अनेरास्ववियु कञ्चनपुरका जिल्ला अध्यक्ष अमरबहादुर धामीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

निर्वाचन अधिकृत कर्णदेव भट्टले नियमावली गत वर्ष नै विश्वविद्यालयको सिनेटले गरेको बताए। विद्यार्थी संगठन र १५ वटा आंगिक क्याम्पसका स्ववियू सभापतिको आग्रहमा संशोधन गरिएको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad