सुदूरपश्चिम


सुदूर पहाडमा जिप हुइँकाउने २१ वर्षीया रविना, जीवितै छ फोटोग्राफर बन्ने सपना

सुदूर पहाडमा जिप हुइँकाउने २१ वर्षीया  रविना, जीवितै छ फोटोग्राफर बन्ने सपना

गोकुल जोशी
असार ४, २०८२ बुधबार १२:१६, कञ्चनपुर

सानैदेखि फोटो खिच्न सौखिन। नयाँ ठाउँ, दृश्य देख्ने बित्तिकै फोटो खिच्न हुरुक्कै हुन्थिन्। साथीहरु पनि उनलाई फोटो खिची माग्थे। उनको सानैदेखिको सपना थियो, ठूलो भएपछि फोटोग्राफर बन्ने। 

तर सोचेको त्यति चाँडै पूरा कहाँ हुन्छ र? जीवनको परिस्थितीले ‘फोटोग्राफर’को सपना सोचेकी उनी जीवन मोडिएर अहिले चालक (ड्राइभर) छिन्। चालक पेशाले नै उनलाई अहिले नामसंगै दाम दिइरहेको छ।

उनी हुन बैतडीको पञ्चेश्वर गाउँपालिका ४ निङलाडीकी २१ वर्षीया रविना चन्द। सुदूरपश्चिमकी एक्ली महिला चालक। सुदूर पहाडका घुम्ती छिचोल्दै ग्रामिण भेगका यात्रुलाई तराईसंग जोडिरहेकी छन्, उनी। 

‘चालक हुँला भनेर त सोचेकै थिएन। परिस्थितले चालक बनायो। काम गर्दै जाँदा अहिले यो पनि राम्रो लागिरहेको छ,’ रविना भन्छिन्, ‘हाम्रो फोटो खिच्ने पसल थियो। सानैदेखि फोटोग्राफर बन्ने सपना थियो।’

रविनाका बुवा डबलबहादुरले ६ वर्षअघि बोलेरो किनेका थिए। चालक राखेर जिप सञ्चालन गर्थे। उनको हार्डवेयर, किराना लगायतको पसल पनि छ। 

आफू पसल बस्ने गर्छन्। गाडी चलाउन राखिएका चालक कोही छोटो समयमै छाडेर जाने, कोहीले लापरबाही गर्ने गर्थे। त्यसले सार्वजनिक गाडी नियमित रूपमा चलाउन डबलबहादुरलाई समस्या आउन थाल्यो। यसमा बारेमा छोरी रविना जानकार नै थिइन्। 

चालकले गर्दा जीप नियमित चलाउन समस्या हुन थालेपछि उनी आफै चालक बन्नमा लागिन्। ‘घरमा जिप हुनाले कहिले काँही थोरै चलाउँदा चलाउँदै जीप चलाउन सिकियो। त्यसपछि गत वर्ष वैशाखतिर लाइसेन्स निकाले,’ उनले भनिन्, ‘चालकले गाडी बीच बाटोमै छोडेको, कहिले बिनाजानकारी छाडेर हिँडेको जस्ता समस्या सुनिरहनुपथ्र्यो। त्यसले गर्दा गाडी थन्किने अवस्था भएपछि आफै त्यसमा लागे।’ 

रविनाका ६ दिदीबहिनी र एक दाइ छन्। सबै बाहिरतिर भएकाले बुवालाई सघाउन र जिम्मेवारी लिन पनि आफू चालक बन्नु परेको उनी बताउँछिन्। 

सवारी चालक अनुमति पत्र लिएपछि एकवर्षदेखि नियमति सार्वजनिक सवारी चलाइरहेकी उनी सुदूर पहाडकी पहिलो महिला चालक हुन। 

सुदूर पहाडमा साँघुरा जोखिमपूर्ण घुम्तीमा हुइँकाउँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जीपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन्, उनी। 

महिना १२/१३ पटक बैतडी–महेन्द्रनगर–धनगढी गरिरहनुपर्छ। उनले कक्षा १२ सम्मको अध्ययन गरेकी छन्। गाउँकै जवलपुर माध्यमिक विद्यालयबाट कक्षा १० उर्तिण गरेकी उनी कक्षा १२  पनि सोही विद्यालयमा पढिन्।

चालकसंगै पढाइलाई पनि निरन्तरता दिने उनको सोच छ। ‘सुरु सुरुमा निकै गाह्रो भयो। ड्राइभरका रुपमा मलाई पत्याउँदैनथे। गाडीमा बसेका यात्रुले ड्राइभर खोइ भनेर सोध्थे,’ रविना भन्छिन्, ‘लामो दूरीमा छोरी मान्छेले गाडी सुरक्षित चलाउन सक्लिन् र? भन्ने जस्ता कुरा गर्थे।’

सुरु सुरुमा ट्राफिक प्रहरीले समेत उनलाई चालक भनेर पत्याउँदैथे। लामो समय केरकार गर्थे, लाइसेन्स माग्थे। कतिपयले तस्बिर नै खिच्थे।

‘नियमित पहाड तराई गर्न थालेपछि अहिले सबैले चिन्नुहुन्छ। सबैले विश्वास पनि गर्नुहुन्छ, सुरुआत जस्तो गाह्रो छैन,’ उनी भन्छिन्, ‘सबैले सहयोग गर्नुभएको छ।’

जीप चलाएर परिवारलाई साथ दिइरहेकी रविना विस्तारै ‘फोटोग्राफर’ बन्ने सपना पनि साकार गर्ने अठोटमा छिन्। ‘अहिले त यसमै ठिक छुँ,’ उनी भन्छिन्, ‘फोटोग्राफीको म सानैदेखि सौखिन हुँ। कुनै दिन यो सपना पनि पूरा गर्छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad