सुदूरपश्चिम


सुदूरपश्चिम: सोडारीको निलम्बनपछि एकीकृत समाजवादी संसदीय दलको नेता को?

सुदूरपश्चिम: सोडारीको निलम्बनपछि एकीकृत समाजवादी संसदीय दलको नेता को?

फाइल तस्बिर: बायाँबाट क्रमश: प्रकाश रावल, नरेश शाही र माया पन्त।


गोकुल जोशी
जेठ २०, २०८२ मंगलबार १०:४५, कञ्चनपुर

भ्रष्टाचार मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सांसद पदबाटै निलम्बित भएका छन्। 

गैरकानुनी रूपमा सम्पत्ति थुपारेको आरोपमा अख्तियारले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ बिगो दाबीसहित सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि त्यो किनारा नलागेसम्म पदबाट निलम्बन हुने उल्लेख छ।

योसँगै अब नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेता पद रिक्त भएको छ। अब उक्त दलमा नयाँ नेता को बन्ला भन्ने चासो बढेको छ।

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको उपस्थिति सुदूरपश्चिममा तुलनात्मकरूपमा बलियो छ। 

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादीबाट ४ जना सांसद छन्, जहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण बन्ने अवस्था आएमा एकीकृत समाजवादीले सरकारको नेतृत्वमा दाबी गर्न सक्छ। यसअघि पनि एकीकृत समाजवादीले सरकारको नेतृत्व पाउँदा सोडारीले मुख्यमन्त्री मन्त्री बन्ने अवसर पाएका थिए। सोडारी त्यतिखेर पनि विवादित थिए। अख्तियार र अन्य विभिन्न निकायको अनुसन्धानमा रहेका उनलाई मुख्यमन्त्री बनाउने कि नबनाउने भनेर तत्कालीन गठबन्धनमा ठूलै रडाको भएको थियो। अन्तिममा केन्द्रीय गठबन्धन नै तलमाथि हुने अवस्था आएपछि विवादका बीच सोडारीले प्रदेश सरकारको नेतृत्व पाएका थिए।

यसैले पनि नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता पदमा यसका सांसदहरूको ध्यान तानिएको छ।

संसदीय दलमा अबको नेता को?
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलमा अहिले प्रकाश रावल उपनेता छन्।

अत: दलको नेतामा पनि उनी नै एक दाबेदार हुन्। दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित रावल अन्य सांसदभन्दा वरिष्ठ पनि हुन्। 

अन्यमा यसअघि प्रदेश सरकारमा मन्त्री भइसकेका सांसदद्वय नरेशकुमार शाही र माया पन्तलाई पनि दल नेताको दाबेदारका रूपमा हेरिएको छ। 

शाही बाजुराका प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। उनी यसअघि आर्थिक मामिला मन्त्री पनि भएका थिए। पन्त भने समानुपातिक सांसद हुन्। 

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बन्न यिनै तीन सांसदबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। 

यस विषयमा नेपालखबरले जिज्ञासा राख्दा एकीकृत समाजवादीका एक नेताले भने, ‘पार्टीले जसलाई भन्छ, उहाँले नै (संसदीय दलको) नेतृत्व गर्नुहुन्छ। अहिलेसम्म त्यस्तो केही भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad