मंगलबार बिहान करिब ९ बजेतिर प्रहरी बिट खैरानामा फोनको घण्टी बज्छ। त्यो फोन कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरका स्थानीयको थियो।
प्रहरीलाई उक्त फोनले सूचना ल्याएको थियो, महिला वेवारिसे अवस्थामा भेटिएको भनेर।
लगत्तै प्रहरी बिट खैरानाका प्रहरी वरिष्ठ हवल्दार धर्मानन्द भट्ट घटनास्थल पुग्छन्। एउटी महिला प्रसव पीडाले छट्पटिएकी थिइन्।
त्यसपछि भट्टले आफ्नै कार्यालयमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवालाई खबर गरेर बोलाए। उनी आफ्नो छोरालाई खाना खुवाउँदै थिइन्। पोशाक लगाएर तुरुन्तै घटनास्थल पुगिहालिन्।
उनी त्यहाँ पुग्दा घटनास्थलमा स्थानीयको बाक्लो भीड लागिसकेको थियो। सडक छेउमा स्थानीयको घर आँगनमा महिला प्रसूति व्यथाले अत्तालिएकी थिइन्।
महिला प्रसव पीडाले छट्पटाइरहँदा स्थानीय भिडिओ खिच्दैथिए। कोही पनि ती महिलालाई सघाउन अघि बढेका थिएनन्। प्रहरी जवान चन्द्रिकाले पनि यस्तो घटना कहिल्यै सम्हालेकी थिइनन्।
बैतडीकी उनी प्रहरी सेवामा प्रवेश गरेको दशक बढी भएको छ तर उनलाई प्रसूती गराउने अनुभव भने थिएन।
महिला र त्यसमा पनि प्रहरी, उनले अदम्य साहस देखाइन्। उनले जोखिम मोलेरै मानवीय भाव देखाउँदै व्यथाले च्यापिएकी महिलाको उद्धारमा जुटिन्।
‘महिला बेहोस थिइन्। स्थानीय हेरिरहेका थिए। यो त राम्रो भएन। मानवियताको धर्मले पनि केही पनि हेर्नु हुँदैन भनेर आफैँ होमिएँ,’ प्रहरी जवान चन्द्रिका भन्छिन्, ‘एचआइभी के-के हुन्छ भनेर छुन मानिरहेका थिएनन्।’
चन्द्रिकालाई प्रसूति गराएको अनुभव पनि नहुनाले आत्तिएकी थिइन्। मुटु दरो पारेर उनले प्रसव पीडामा रहेकी सुर्खेतकी चन्द्रा आचार्यलाई साहस दिइन्। ‘केही हुँदैन, तपाईंलाई जसरी भए पनि म बचाउँछु’ भनेर चन्द्रालाई साहस दिँदै प्रहरी जवान चन्द्रिकाले सकुसल शिशु जन्माउन उत्प्रेरित गरिरहिन्।
‘उहाँ (चन्द्रा)ले बच्चा डेलिभरी गराउनुभयो। मलाई सालनाल काट्न पनि आउँदैनथ्यो, स्थानीयहरुले भनेबमोजिम गरेर सालनाल काटे,’ प्रहरी जवान चन्द्रिकाले भनिन्, ‘डेलिभरीपछि पनि बच्चा र आमा स्वस्थ छन्।’
बेहोस अवस्थामा रहेकी चन्द्राले झण्डै एक घन्टाको कष्टपछि छोरालाई जन्म दिइन्। प्रहरी जवान चन्द्रिकाले महिलालाई छोराको अनुहार देखाइदिइन् र आफ्नो अँगालोमा सुरक्षित राखिन्।
पछि अत्तरियाको पद्मा अस्पतालका डाक्टरसहित टोली आएर सुत्केरी महिला चन्द्रा र नवजात शिशुलाई प्रहरीको सहयोगमा उद्धार गरेर अस्पताल लगिएको थियो।
दरिलो साहस देखाउँदै प्रसव पीडाले बेहास महिलालाई सकुसल बच्चा जन्म दिएर आमा र छोराको ज्यान जोगाएकोमा प्रहरी जवान चन्द्रिकाको चौतर्फी तारिफ भइरहेको छ।
प्रहरी जवान देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले अभिलेख रहनेगरी नगदसहित पुरस्कृत गरेको छ। बुधबार जिप्रका कैलालीमा देउवालाई नगरसहित पुरस्कार हस्तान्तरण गरिएको हो।
तालिम र उपकरणबिना नै हिम्मत देखाएर धैर्यताको साथ प्रसुति व्यथाले च्यापेकी आमालाई सुरक्षित प्रसुति गराएर उदाहरणीय काम गरेको जिल्ला प्रहरी कार्यालयका एसपी बालनरसिंह राणाले बताए।
प्रहरी महानिरीक्षक दीपक थापाले पनि प्रहरी जवान देउवालाई पुरस्कृत गरेका छन्। सहयोग गरेर आमा र बच्चाको ज्यान जोगाइ प्रहरीको छवीलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेकाले प्रहरी महानिरीक्षक दीपक थापाद्वारा पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया