सुदूरपश्चिम


महेन्द्रनगरमा वैशाख २६ देखि सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव

महेन्द्रनगरमा वैशाख २६ देखि सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १७:४, कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव हुने भएको छ। सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको सम्भावना तथा प्रचारप्रसारका लागि वैशाख २६ गतेदेखि महेन्द्रनगरमा ३ दिने पर्यटन महोत्सव आयोजना हुन लागेको हो। 

बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पर्यटन महोत्सवबारे जानकारी गराइएको थियो। 

भीमदत्त नगरपालिका र पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना हुन लागेको भीमदत्त पर्यटन विकास समितिका संयोजक तथा महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र केसीले बताए। 

उनका अनुसार सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको जानकारी गराउने, सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउनेबारे नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने महोत्सवको उदेश्य रहेको छ। 

भारतबाट ५० जना पर्यटन व्यवसायी र विज्ञहरूको टोली महोत्सवमा सहभागी हुने उनले जानकारी दिए। 

‘यहाँका पर्यटकीय क्षेत्रहरूबारे नेपाल–भारतका पर्यटन व्यवसायीबीच छलफल हुनेछ, महोत्सव अवधिमै उनीहरूलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली र कर्णाली नदीमा र्‍यापटिङ गराइनेछ,’ उनले भने। 

महोत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको महोत्सव आयोजक समितिका संयोजक केसीले बताए। 

‘महोत्सवमा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र पारिएको छ, महोत्सवको पहिलो दिनमा उद्घाटनपछि नेपाल–भारतका पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सम्बन्धित क्षेत्रहरूका विज्ञहरूबीच बी टु बी छलफल, यहाँका पर्यटन क्षेत्रको अवस्था, सम्भावना र पर्यटकीय गन्तव्यहरूबारे कार्यपत्र प्रस्तुत हुनेछ,’ उनले भने। 

महोत्सवको वैशाख २६ गते बिहान ११ बजे पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन्। उद्घाटन समारोहको अध्यक्षता भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गर्नेछन्। 

पयर्टन महोत्सव आयोजना गर्नका लागि भीमदत्त नगरपालिकाले ५ लाख र पर्यटन बोर्डले २५ लाख ६० हजार बजेट विनियोजन गरेको छ। 

पर्यटन महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन संयोजक केसीको अध्यक्षता र नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको प्रमुख आतिथ्यतामा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad