इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणका खेलहरू अन्तिमतिर आउँदै गर्दा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीबीच प्रतिस्पर्धा कडा बनेको छ।
मंगलबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेलपछि पर्पल क्याप र ओरेन्ज क्यापको दौड रोमाञ्चक बनेको छ। आईपीएलमा ओरेन्ज क्याप सर्वाधिक रन बनाउनेले र पर्पल क्याप सर्वाधिक विकेट लिने खेलाडीले पाउँछ।
त्यसअघि ओरेन्ज क्यापको दौडमा रोयल च्यालेन्जर्स ब्यांग्लोरका विराट कोहलीले ‘लिड’ गरिरहेका थिए। तर मंगलबारको खेलपछि मुम्बई र गुजरातका खेलाडीले बाजी मारेका छन्।
आईपीएलमा ५ खेलाडीले मात्र ५ सय रनको आँकडा पूरा गरेका छन्। तिनै खेलाडी ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा छन्।
आईपीएलको ओरेन्ज क्यापको दौडमा कुन कुन खेलाडी छन् त?
ओरेन्ज क्यापको दौडमा रहेका खेलाडीहरू

सूर्यकुमार यादव (मुम्बई इन्डियन्स)
मुम्बई इन्डियन्सका सूर्य कुमार यादव ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा उक्लेका छन्।
यादवले आईपीएलको १२ खेलमा ५ सय १० रन बनाएका छन्। सबै खेलमा चौथो नम्बरमा ब्याटिङमा आएका यादवले सर्वाधिक ६८ रन बनाएका छन्।
चेन्नई सुपर किंग्सविरुद्ध सर्वाधिक ६८ रनमा अविजित रहेका उनले गुजरातविरुद्ध ३५ रन बनाएका थिए।
आईपीएलमा तीन अर्धशतक हानेका यादवले ५१ चौका र २६ छक्का प्रहार गरेका छन्। उनको स्ट्राइक रनरेट १७०.५६ छ।

भारद्वाज साइ सुदर्शन (गुजरात टाइटन्स)
गुजरातका साइ सुदर्शनले आईपीएलमा १२ खेल खेलेका छन्।
१२ खेलमा ५ सय ९ रन बनाएका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्।
आईपीएलमा उनले तीन खेलमा अर्धशतक हानेका छन्। ११ खेलमा ५६ चौका र १६ छक्का हानेका सुदर्शनले शीर्ष स्थानका सूर्य कुमार यादवभन्दा १ रनले मात्र पछि छन्। उनको स्ट्राइक रनरेट १५३.३१ छ।

शुभमन गिल (गुजरात टाइटन्स)
आईपीएलको ओरेन्ज क्यापको दौडमा गुजरातकै शुभमन गिल पनि छन्। ओपनर शुभमनले ११ खेलमा ५ सय ८ रन बनाएका छन्।
उनले शीर्ष र दोस्रो स्थानमा रहेका सूर्यकुमार र साइ सुदर्शनलाई कडा टक्कर दिइरहेका छन्।
आईपीएलमा सर्वाधिक ९० रन बनाएका उनी राजस्थान रोयल्सविरुद्ध भने २ रनमा नै आउट भएका थिए।
उनले पाँच खेलमा अर्धशतक पूरा गरेका छन्। लिगमा ५१ चौका र १६ छक्का प्रहार गरेका उनी ओरेन्ज क्यापको दौडमा चुनौती बनिरहेका छन्। उनको स्ट्राइक रनरेट १५२.५५ छ।

विराट कोहली (रोयल च्यालेन्जर्स ब्यांग्लोर)
सोमबारसम्म ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा पकड जमाइरहेका विराट कोहली मंंगलबारको खेलपछि चौथो स्थानमा झरेका छन्।
आईपीएलको ११ खेलमा तेस्रो नम्बरमा ब्याटिङमा आएका विराटले ५ सय ५ रन बनाएका छन्। विराट पञ्जाव किंग्सविरुद्ध सर्वाधिक ७३ रनमा अविजित रहेका थिए।
ओरेन्ज क्यापको दौडमा रहेका खेलाडीमध्ये सर्वाधिक अर्धशतक पूरा गर्ने विराट एक्ला खेलाडी हुन्।
उनले सात खेलमा अर्धशतक पूरा गरेका छन्। ४४ चौका र १८ छक्का प्रहार गरेका विराटको स्ट्राइक रनरेट १४३.४६ छ।

जस बटलर (गुजरात टाइटन्स)
गुजरातका जस बटलर ओरेन्ज क्यापको दौडमा पाँचौँ स्थानमा छन्। विकेट किपर समेत रहेका बटलर आईपीएलमा ५ सय रनको आँकडा पूरा गर्ने पाँचौँ खेलाडी हुन्।
गुजरातका बटलरले ११ खेलमा चौथो नम्बरमा आएर ब्याटिङ सम्हालिरहेका छन्।
दिल्ली क्यापिटल्सविरुद्ध ९७ रनमा पेभेलियन फर्केका बटलर सनराइजर्स हैदरावादविरुद्ध भने शून्य रनमा नै आउट भएका थिए।
५ रन बनाउँदा बटलरले पाँच खेलमा अर्धशतक पूरा गरेका छन्। लिगमा उनले ४९ चौका र २२ छक्का प्रहार गर्दा स्ट्राइक रनरेट १६३.९३ छ।
Shares

प्रतिक्रिया