सुदूरपश्चिम


झोला र पैसा चोरेको आशंकामा पूर्वप्रहरीले गरे हत्या

झोला र पैसा चोरेको आशंकामा पूर्वप्रहरीले गरे हत्या

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १७:४९, कञ्चनपुर

कैलालीको अत्तरियामा मृत भेटिएका डडेल्धुराका ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बैतडीको डिलाशैनी गाउँपालिकाका हेमन्तबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो। आरोपीले बयानका क्रममा हत्या स्वीकारेकोले बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीलाई उनलाई सार्वजनिक गरेको छ। 

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाका अनुसार बोहराले बयानमा हत्या स्वीकारेका छन्। झोला र रुपैयाँ चोरीको आशंकापछि बोहराले कैनीको हत्या गरेको खुलाएका छन्। २६ चैत्र राती गोदावरी नगरपालिका–१ को अत्तरियास्थित दुर्गा मन्दिरमा कैनीको हत्या भएको थियो। अर्को दिन उनको शव रक्ताम्य अवस्थामा भेटिएपछि शंकास्पद घटनाको प्रहरीले अनुसन्धान गरेको थियो। 

हत्या आरोपी बोहरा पूर्वसशस्त्र प्रहरी हुन। फिरन्ते स्वभावका बोहरा कहिल्यै मन्दिर, प्रतिक्षालय त कहिल्यै काम गर्थे होटलमै रात बिताउँथे। २६ चैत्रको राती बोहरा सुत्नका लागि दुर्गा मन्दिर पुगेका थिए। प्रहरीका अनुसार कैनी मन्दिरमा त्यसअघि नै सुतिसकेका थिए। बोहरा राति ९ बजेतिर रक्सी किन्न बजार गएका थिए। त्यसपछि मदिरा लिएर फेरि उनी मन्दिरमै पुग्छन्।  

मदिरा पिएपछि मध्यरात पानी लिन धारा गएका थिए। ‘त्यसअघि झोला पनि हराएको रहेछ। झोला र पैसा चोरेको आशंकामा आक्रोशित भएर ढुंगाले हानेर हत्या गरेको भनेका छन्,’ डीएसपी थापाले भने। 

त्यसपछि शव मन्दिर पछाडि फालेका थिए। घटनापछि बोहरा फरार भएका थिए। बिहान धनगढी पुगेर एक होटलमा काम थालेको अनुसन्धानबाट खुलेको छ। होटलबाट घर जाने भन्दै निस्किएका बोहरालाई बुधबार गोदावरी नगरपालिका-१ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

५० भन्दा बढी शंकास्पद व्यक्तिमाथिको सोधपुछ, सीसीटीभी फुटेज र अन्य प्रमाणको आधारमा घटनामा बोहरा संलग्न देखिएको प्रहरीले जनाएको छ। उनविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad