सुदूरपश्चिम


नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

६८ हजार लगानीमा सुरु गरेको उद्यमबाट वार्षिक ४० लाख आम्दानी
नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

गोकुल जोशी
चैत १३, २०८१ बुधबार ७:५१, देहेरादून (भारत)

ताप्लेजुङकी ५० वर्षीया माया गुरुङलाई अलैँचीको उपयोगितासँग जोडिएको डेढ दशक भइसक्यो। उनी अलैँची काट्नमा आफैँ जुट्छिन्। 

अलैँचीको विरुवा काटेर सुकाइन्छ। सुकेको अलैँचीको बिरुवाबाट रेशा निकाल्छिन्। हस्त कलाको सीप प्रयोग गर्दै अलैँचीको रेशाबाट सुन्दर सामाग्री तयार पार्ने काममा अभ्यस्त भइसकिन्, माया।

उनलाई अहिले यही सीपले मनग्य आम्दानी दिइरहेको छ। अलैँचीको रेशमबाट उनले झोला लगायत सजावटका विभिन्न ५० प्रकारका सामग्री उत्पादन गर्छिन्।

‘घरमा आमाबुवा अलैँचीको रेशम प्रयोग गरेर डोरी बनाउथे। निकै टिकाउ हुन्थ्यो,’ माया भन्छिन्, ‘यसबाट अन्य सामग्री बनाएर बेच्न पाए राम्रो हुने सोचेर सामग्री बनाउन थालेँ। काम गर्दागर्दै सीप सिकियो।’

वि.सं. २०६८ सालदेखि उनी हस्तकलाको उद्यममा सक्रिय छिन्। ६८ हजारको लगानीमा सुरु गरेको मायाको यो उद्यममा गाउँकै १५ जना स्थानीय महिलाले पनि रोजगारी पाएका छन्।

वार्षिक ४० लाखसम्मको कारोबार हुने गरेको माया बताउँछिन्। ‘सबै खर्च कटाएर वर्षमा १२ लाखसम्म बचत हुन्छ,’ उनले भनिन्, ‘घरखर्च सबै यसैबाट चलेको छ।’

उत्पादित सामग्री बिक्रीका लागि विराटनगरदेखि काठमाडौँसम्म जाने गरेका छन्। माया हस्तकलाका सामान बिक्रीका लागि झापा, बिर्तामोड, काकडभिट्टा, धुलाबारीदेखि भारतको कलकत्तासम्मका मेला महोत्सवमा पनि पुगेकी छन्।

भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जारी इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा पनि उनलाई हस्तकलाका सामाग्री बेच्न भ्याइनभ्याइ छ।

अलैँचीको रेशाबाट उत्पादित सामग्री बलियो र आकर्षक हुने हुनाले ग्राहकको रोजाइमा पर्ने गरेका छन्। 

‘यी सामग्री वर्षौं टिक्छन्। यसमा रङरोगन गर्नुपर्दैन। भिन्नभिन्न रंगमा हुन्छ,’ उनले भनिन्, ‘यसका धेरै फाइदा छन्, नेपाली मौलिक उत्पादनलाई रुचाइ दिएका छन्।’

माया हस्तकलाका सामान लिएर बिक्रीका लागि देहरादुनको मेलामा दोस्रोपटक आएकी हुन्। यसअघि वि.सं. २०७५ सालमा आएकी उनी व्यापार राम्रो भएपछि दोस्रो पटक आएको बताउँछिन्।

०६८ सालमा उत्पादन सुरु गर्दा उनलाई बजारीकरणको समस्या थियो। उनले ताप्लेजुङकै मेलामा उत्पादनहरू प्रदर्शनमा राखिन्। ग्राहकले रुचाएपछि उत्पादन राम्रै बिक्री भयो।

‘बजारीकरणमा मेलाले निकै सहयोग पुर्‍यायो। हाम्रै त्यताको मेलामा उत्पादन राम्रो बिक्री भएपछि अन्यत्रका मेला महोत्सवकमा पनि जान थालेको हो,’ उनले भनिन्, ‘अहिले काठमाडौँ लगायत विभिन्न ठाउँबाट अर्डर आउँछ। माग पूरा गर्नै हम्मेहम्मे पर्ने गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad