सुदूरपश्चिम


तलब काटेर कार्यालय परिसरमा फूलबारी, वडाध्यक्ष आफैँ हाल्छन् पानी

तलब काटेर कार्यालय परिसरमा फूलबारी, वडाध्यक्ष आफैँ हाल्छन् पानी

कार्यालय परिसरस्थित फूलबारी गोडमेल गर्दै वडाध्यक्ष लालबहादुर ऐर


नेपालखबर
माघ ८, २०८१ मंगलबार ७:६, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फुलेका छन्।

हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिए। 

कार्यालयबाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त बन्छन्।

एक वर्षदेखि उनले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउनेलगायत काम आफैँले गरिरहेका छन्। उनले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्नेलगायत काम आफैँले गरिरहेका छन्।

आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताए। कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूलसँग रमाउने बताउँदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको उनको बुझाइ छ। 

‘फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउनेलगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ’, वडाध्यक्ष ऐरले भने, ‘यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ।’

फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरूले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे। 

कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नुभन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउनेतर्फ जुटेको वडाध्यक्ष ऐरले बताए। बारीमा स्थानीय प्रजातिका साथै बाहिरबाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उनले जानकारी दिए। 

गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फुलेका स्थानीय सुरेश भट्टले बताए।

‘कार्यालयको मुहार फूलबारीले सुन्दर र आकर्षित बनाएको छ’, उनले भने, ‘पहिले कार्यालय परिसरमा आउँदा धुलो मात्रै देखिन्थ्यो, अहिले भुइँमा सिमेन्टका टायल बिछ्याएका छन्, वरिपरी पूरै फूलबारीले हराभरा देखिन्छ, तनाव लिएर कार्यालय जाँदा फूलबारीको सुन्दरताले आनन्दित बनाउँछ।’

वडामा रहेका बेला वडाध्यक्ष आफैँले फूलबारीमा बिरुवा रोप्ने, गोडमेल तथा झारपात उखेलर सफा गर्ने, सिँचाइ गर्नेलगायत काम गर्ने कर्मचारी केशवराज जोशीले जानकारी दिए। ‘वडाध्यक्ष जिल्ला बाहिर गएका बेला कर्मचारीले फूलबारीको रेखदेख र स्याहार गर्दै आएका छौँ’, उनले भने। 

आगामी दिनमा कार्यालय परिसरमा बाँकी रहेको जमिनमा हरियालीका लागि चाइनिज दुवो रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ऐरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad