सुदूरपश्चिम


रुसी सैनिक छोराको बाटो कुरिरहेकी आमा

रुसी सैनिक छोराको बाटो कुरिरहेकी आमा

गोकुल जोशी
पुस ३, २०८१ बुधबार २१:४५, कञ्चनपुर

कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी ५७ वर्षीया कमलादेवी विष्ट घरमा एक्लै छिन्। बारम्बार मोबाइल हेर्छिन्, छोराको फोन आउँछ कि भनेर।

आँगनमा कोही नयाँ मान्छेले पाइला टेक्नासाथ छोराको रैबार (खबर) आएको ठान्छिन्। सोधीखोजी गर्छिन् र एकैछिनमा छोरा सम्झिँदै भक्कानिन थाल्छिन्, उनी।

रुसी सेनामा भर्ना भएका कमलादेवीका छोरा ३० वर्षीय लोकेन्द्र करिब ६ महिनादेखि सम्पर्कविहीन छन्। युक्रेनसँगको युद्धमा होमिएका लोकेन्द्र असार २७ गतेदेखि सम्पर्कमा नआउँदा परिवार बेचैन छ।

सुन्दरपुरमा लोकेन्द्रकी आमा बस्छिन्। उनकी श्रीमती मिना र ४ वर्षीय छोरा गोर्खामा बस्छन्। असार २७ अघि २/४ दिन बिराएर लोकेन्द्र परिवारसँग सम्पर्क गरिरहन्थे। परिवारका अनुसार २७ असारमा उनले साथीको मोबाइलबाट युद्धमा होमिएको ‘भ्वाइस म्यासेज’ पठाए।

आमा कमलादेवीका अनुसार अर्को महिनातिर लोकेन्द्रसहित रुसी सैनिक चढेको गाडीमाथि हमला भएको खबर आयो। गाडीमा मात्रै पछि क्षति पुगेको सुनाए त कसैले केही सैनिक पनि घाइते भएर अस्पतालमा भर्ना भएको।

‘सम्पर्कमा रहेका सँगैका साथीहरु पनि अहिले सम्पर्कमा छैनन्। छोराको बारेमा केही खबर आएको छैन,’ आमा कमलादेवी भन्छिन्, ‘कस्तो होला? के होला? केही पत्ता नलाग्ने भयो।’

लोकेन्द्र मंसिर २१ गते रुसी सेनामा भर्ना भएका थिए। उनीसँगै सुन्दरपुरका विराजन विष्ट र उनका सहोदर भाइ ४१ वर्षीय निराजन पनि थिए। उनीहरू भैरहवा हुँदै दिल्लीबाट रुस पुगेका थिए।
रुस उडेको ६ महिनामै विराजन युद्धमा ढलेका थिए। उनका भाइ निराजन घाइते भएका थिए। उनी अहिले पनि रुसमै छन्।

६ महिनादेखि बेपत्ता लोकेन्द्र ऋण काढेर रुस हानिएका थिए। त्यसअघि उनले मलेसिया र साउदी अरबमा पनि काम गर्थे।

‘साउनतिर छोराले चलाउने आइडी अनलाइन पनि देखाएको थियो। तर कुरा हुन पाएन,’ भक्कानिँदै कमलादेवी भन्छिन्, ‘मंसिर पुसमा फर्किएर घर बनाउँछु भन्थ्यो। सपनामा छोरा आँगनमा आएको देख्छु। बिपनामा कहिले देख्न पाइएला?’

सुन्दरपुरमा लोकेन्द्रले घरको जग हालेका थिए। त्यो पनि अहिले त्यसै खण्डहर बनिरहेको छ। कमलादेवीका कान्छा छोरा यादव भारतमा काम गर्छन्। उनको परिवार नै त्यतै बस्छ। लोकेन्द्रको परिवारले अवस्था पत्ता लगाउन सरकारलाई आग्रह गरेको छ।

‘भाइको अवस्था पत्ता लगाउन भनेर सरकारलाई निवेदन दिएका छौँ। तर अहिलेसम्म कुनै पत्तो चलेको छैन,’ दिदी गीताले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad