सुदूरपश्चिम


बाजुरा दुर्घटनामा कञ्चनपुरका शिक्षक दम्पती, क्षणभरमै बिलायो घुमफिरको रमाइलो

श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
बाजुरा दुर्घटनामा कञ्चनपुरका शिक्षक दम्पती, क्षणभरमै बिलायो घुमफिरको रमाइलो

बाजुराको मार्तडीमा दुर्घटनामा ज्यान गुमाएकी गायत्री पन्त। उनका श्रीमान् लोकेन्द्र पनि सोही दुर्घटनामा घाइते भएका छन्।


गोकुल जोशी
मंसिर २३, २०८१ आइतबार २२:१४, कञ्चनपुर

बाजुराको मार्तडीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

मृतक भट्ट शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टकी श्रीमती हुन्। अर्की मृतक पन्त पनि भट्टकै आफन्त पर्छन्। उनका श्रीमान लोकेन्द्र पन्त दुर्घटनामा परेर घाइते भएका छन्। 

पन्त दम्पती शिक्षक हुन्। लोकेन्द्र भीमदत्त नगरपालिकाको ओदालीस्थित बीपी कोइराला आधारभूत विद्यालयमा शिक्षण गर्छन्। पत्नी गायत्री एक निजी विद्यालयमा पढाउँथिन्।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का मोहनदेव भट्ट र बाजुराको गौमूल गाउँपालिका–४ का २५ वर्षीय रमेश धामी पनि घाइते भएका छन्। 

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिर दर्शन गरेर फर्किने क्रममा उनीहरू सवार सुपप्र ०१००१ च ४३१६ नम्बरको स्कारपियो आइतबार दिउँसो दुर्घटनामा परेको थियो।

जिप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख भट्ट भर्खरै डोटीबाट सरुवा भएर बाजुरा गएका थिए।

उनकी श्रीमतीसहित आफन्त मन्दिर दर्शनसहित घुमफिरमा थिए। उनीहरूले अछामको रामारोशन हुँदै बाजुराका विभिन्न ठाउँ घुमघाम गरेका थिए। 

घाइते शिक्षक लोकेन्द्रले एक दिनअघि मात्रै बाजुराको बिरेखोला झरनामा तस्बिर कैद गरेर सामाजिक सञ्जालमा राखेका थिए।

आफन्तसँग घुमफिरको रमाइलो दुर्घटनाले छणभरमै शोकमा परिणत गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad