बैतडीमा १८ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्ण जोशी किशोरी बेपत्ताको आरोपमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको हो।
पञ्चेश्वर गाउँपालिका–१ की १८ वर्षीया किशोरी शुक्रबार बिहानदेखि बेपत्ता छिन्। आफन्त र स्थानीयले प्रहरी हवल्दार जोशीले किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।
शुक्रबार बेलुका उनीहरूले महाकाली प्रहरी चौकीका इन्चार्जसमेत रहेका जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
किशोरी बेपत्ता पारेको आरोपपछि थप अनुसन्धानका लागि शुक्रबार राति नै जोशीलाई सदरमुकाम ल्याइएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।
ती किशोरी र प्रहरी हवल्दार जोशीको चिनजान थियो। बोलचाल पनि हुने हुनाले उनैले किशोरीलाई भगाएको परिवारको आरोप छ।
‘चिनजान भएकाले भेटघाट हुने गरेको उनले स्वीकारेका छन्। तर आफूले बेपत्ता नपारेको बताइरहेका छन्,’ प्रहरी निरीक्षक ढुंगानाले नेपालखबरसँग भने, ‘थप अनुसन्धानका लागि हामीले उनलाई सदरमुकाम ल्याएका छौँ।’
ती बेपत्ता किशोरीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया