सुदूरपश्चिम


मध्यराति हात्तीले कुल्च्यो उमेशको शरीरसँगै सुरक्षाकर्मी बन्ने सपना

मध्यराति हात्तीले कुल्च्यो उमेशको शरीरसँगै सुरक्षाकर्मी बन्ने सपना

हात्तीले उमेशलाई आक्रमण गरेको जंगल र इन्सेटमा उमेश चौधरी


गोकुल जोशी
असोज २३, २०८१ बुधबार ११:१६, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका-५ रामनगरमा दसैँको नाचगान चलिरहेको थियो। बेलौरी नगरपालिका-६ ढक्का चादरका २४ वर्षीय उमेश चौधरी पनि सोमबार बेलुका त्यतैतिर हानिए।

साथमा ढक्का चादरकै साथी २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी पनि थिए। से ४ प ८६१८ नम्बरको मोटरसाइकलमा तीनै जना चढे र रामनगरतिर लागे।

रामनगरमा उमेशको फुपूको घर छ। त्यहाँ उनीहरू नाचगानमा रमाए। रात धेरै बितिसकेको थियो। फुपूको घरमा खाना खाएर उमेश र उनका २ साथी राति नै मोटरसाइकलमा घरतर्फ लागे। 

तर उमेश घर पुग्नै पाएनन्।

मध्यराति मोटरसाइकलमा घर फर्किंदै गरेका उनीहरू बेलौरी नगरपालिका-५ बन्तरियामा पुग्दा जंगली हात्तीको बथानसँग जम्काभेट भयो। मोटरसाइकल उमेशले चलाइरहेका थिए भने पछाडि रोशन र नवीन बसेका थिए।

प्रहरीका अनुसार बन्तरिया पुग्नै लाग्दा हात्तीको आवाज सुनेपछि रोशन र नवीन भागे तर मोटरसाइकल चालक उमेशलाई हात्तीले आक्रमण गरिहाल्यो।

बेलौरी नगरपालिका-५ को पुष्पलाल स्मृति सामुदायिक वन र बन्तरिया बस्ती आपसमा जोडिएका छन्। त्यहीबीचको कच्ची बाटो भएर उनीहरू घर फर्किंदै थिए। 

‘बन्तरियाको कच्ची बाटो हुँदै मैना पुग्न खोजेको देखिन्छ, मैनाबाट कालोपत्रे सडक छ। यो बाटो छोटो पर्छ, तर मैना पुग्नै लाग्दा हात्तीको आक्रमण परे’, बेलौरी नगरपालिका-६ का अध्यक्ष भोजराज चौधरीले भने। 

भागेर बस्तीमा पुगेका रोशन र नवीनले स्थानीयलाई सँगैका साथी उमेश बेपत्ता रहेको बताए। त्यसपछि खोजीका क्रममा उमेश मंगलबार बिहान हात्तीले आक्रमण गरेको अवस्थामा मृत भेटिए। 

बेलौरी नगरपालिका-५ मा तीन/चार दिनदेखि जंगली हात्तीको बथानले उपद्रव मच्चाइरहेको थियो। ठूलो संख्यामा बस्ती पसिरहेका हात्तीले धानबाली सखाप पारिरहेका थिए। जसका कारण स्थानीय भयभीत भइरहेका थिए। नभन्दै सोमबार मध्यराति उमेशलाई हात्तीले आक्रमण गर्‍यो। 

‘दिउँसो साढे ४ बजे कुण्डातिर ठूलो बथानमा हात्ती देखापरेको भनेर फोन आएको थियो। हामीले स्थानीयलाई सचेत रहन भनेका थियौँ’, बेलौरी नगरपालिका-५ का लालबहादुर चौधरीले भने, ‘त्यही राति बन्तरियामा मान्छेलाई नै आक्रमण गर्‍यो।’

तीन/चार दिनदेखि सोभाताल, रामनगरलगायत ठाउँमा हात्तीले आतंक मच्चाइरहेका थिए।

यहीबीच जंगली हात्तीले मान्छे मारेपछि स्थानीयमा त्रास झन् बढेको अध्यक्ष चौधरी बताउँछन्।

योसँगै कञ्चनपुरमा दुई साता नबित्दै जंगली हात्तीले दुई जनाको ज्यान लिएको छ। यसअघि असोज १३ मा लालझाडी गाउँपालिका-४ डाडाजाइका रामदल राना हात्तीको आक्रमणबाट मारिएका थिए। 

सुरक्षाकर्मी बन्न चाहन्थे उमेश  
उमेश सुरक्षा फौजमा जागिर खान बन्न चाहन्थे। यसका लागि उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा प्रतिस्पर्धासमेत गरिसकेका थिए। यद्दपि सफलता मिलिसकेको थिएन। तर उनले हार मानेका थिएनन्।

आफ्नो सपना पूरा गर्न उनी तयारीस्वरूप दिनहुँ बिहान दौडिन्थे। त्यसो त उनका दाइ र बहिनी पहिलेदेखि नेपाल प्रहरीमा जागिरे थिए। त्यसैले पनि उनको लगाव त्यतैतिर थियो। 

तर त्यो सपना पूरा हुन नपाउँदै उमेश हात्तीबाट मारिए। 

‘फौजी बनेर देशको सेवा गर्ने सपना थियो। भाइले त्यसकै तयारी गरिरहेको थियो’, उमेशका जेठा दाइ रामप्रसाद भन्छन्, ‘पत्याउनै नसक्ने यस्तो घटना भयो। सपना सबै चकनाचूर भए।’

उमेशका आमाबुवा बेलौरी नगरपालिका-६ ढक्का चादरमा बस्छन्। ५४ वर्षीय जोगराजका ४ सन्तानमध्ये उमेश साइँला छोरा थिए। जेठा रामप्रसाद नेपाल प्रहरीको सहायक हवल्दार छन्।

उनी हाल इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा कार्यरत छन्। उनीहरूका कान्छी बहिनी सुष्मा पनि प्रहरी जवान छिन्।

ढक्का चादरमा चौधरी परिवरको साढे ३ कठ्ठा जग्गा छ। उमेशको निधनले चौधरी परिवार विक्षिप्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad