ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमका मुख्यमन्त्रीसहित ५ मन्त्री नै प्रदेशसभामा अनुपस्थित, कृषिमन्त्री पुग्दा चल्यो बैठक

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित ५ मन्त्री नै प्रदेशसभामा अनुपस्थित, कृषिमन्त्री पुग्दा चल्यो बैठक

मंगलबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठक र इन्सेकमा कृषिमन्त्री टिका थापा


गोकुल जोशी
साउन ८, २०८१ मंगलबार १५:७, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको जानकारी गराए। उनका अनुसार अर्को सूचना नआउञ्जेलसम्म प्रदेश सभा बैठक स्थगित भएको हो।

बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री सोडारी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए। 

बैठक स्थगित भएको वा अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनेर प्रदेश सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सांसदले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशन वा बैठक बस्ने मिति तोक्ने सक्ने संवैधानिक व्यवस्था छ।

कांग्रेस एमालेसहितका सांसदको अनुरोधपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख मियाँले मंगलबार दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए। 

बैठकमा सत्ता पक्षीय सांसदको उपस्थिति न्युन थियो। विशेष अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट एक जना मन्त्री मात्रै उपस्थित थिइन्। 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी र अन्य ५ मन्त्री बैठकमा सहभागी भएनन्। 

सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ६ अनुसार बैठकमा मन्त्रीको उपस्थिती अनिवार्य रुपमा हुनुपर्ने भनिएको छ। 

यस्तै, सोही उपनियममा कुनै खास विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनु पर्ने भनिएको छ।

विशेष अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट कृषि तथा भूमि सुधार मन्त्री टीका थापा मात्रै उपस्थित भइन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सामेल छिन्। 

थापा मंगलबारको बैठकमा सहभागी नभएको भए सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ अनुसार बैठक सञ्चालन हुने थिएन। 

सोडारी नेतृत्वको अल्पमतको प्रदेश सरकारमा अहिले नेकपा माओवादीको तर्फबाट अक्कल बहादुर रावल जलस्रोत तथा सहरी विकास, लक्ष्मी विक शिक्षा, युवा तथा खेलकुद र ओम विक्रम भाट स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री छन्। 

यस्तै, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन्। 

उनीहरू विशेष अधिवेशनको पहिलो बैठकमा सहभागी भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .