ad ad

सुदूरपश्चिम


दामोदर भण्डारी : सत्ता उलटफेरमा नछुटेका मन्त्री

दामोदर भण्डारी : सत्ता उलटफेरमा नछुटेका मन्त्री

तस्बिर : रासस


गोकुल जोशी
साउन १, २०८१ मंगलबार ११:५८, कञ्चनपुर

आम निर्वाचनपछिको दुई वर्षको अवधिमा सरकार गठनका लागि ४ पटक राजनीतिक समीकरण फेरियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले एमालेलाई त कहिले कांग्रेसलाई सत्ताको सारथि बनाए।

अहिले कांग्रेस-एमालेको मिलनले दाहाल सत्ताबाट बर्हिगमनमा परेका छन्। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्।

आम निर्वाचनपछिको यस अवधिमा एमाले सत्तामा उक्लिँदा प्रत्येकपटक मन्त्री बन्ने मौका पाउने नेतामा पर्छन्, दामोदर भण्डारी। कांग्रेसको समर्थनमा बनेको ओली नेतृत्वको सरकारमा उनले फेरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्।

योसँगै चुनावपछिको २ वर्षको अवधिमा भण्डारीले तेस्रोपटक उद्योग मन्त्रालय सम्हाल्ने मौका पाएका छन्।

२०७९ पुस ११ गते भण्डारी प्रचण्ड नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए। त्यसबेला उनी करिब २ महिना मन्त्रालयमा रहे।

चुनावताकाको वाम–लोकतान्त्रिक गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न एकाएक एमालेसँग सहकार्य गरेपछि भण्डारीलाई मन्त्री बन्ने अवसर आएको थियो।

तर एमालेसँगको गठबन्धन राष्ट्रपति चुनावमा टुट्यो। माओवादीले एमालेका उम्मेदवारलाई होइन, कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय लियो।

त्यसबाट रिसाएर एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो। जसका कारण भण्डारीको मन्त्री पद २ महिनामै गुमेको थियो।

तर त्यसको एक वर्षमै २०८० फागुन २१ मा दाहाल कांग्रेसको साथ छोडेर एमालेसँग मिल्न पुगेपछि भण्डारीलाई दोस्रोपटक उद्योगमन्त्री बन्ने मौका मिलेको थियो।

अहिले कांग्रेस र एमाले गठबन्धनको सरकारमा फेरि उनै भण्डारी ओलीको रोजाइमा परेका छन्।

भण्डारी सुदूरपश्चिमबाट तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेबाट संसद् यात्रा तय गर्ने दुई नेतामध्ये एक हुन्।

एमालेका तर्फबाट सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर १ बाट तारा लामा तामाङ र बैतडीबाट भण्डारी निर्वाचित भएका थिए।

भण्डारीले निरन्तर तीनपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाउँदा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका अर्का सांसद तामाङ भने खाली हात छन्।

को हुन भण्डारी?
भण्डारी विद्यार्थी राजनीति हुँदै मूलधारमा सक्रिय भएका हुन्। उनी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा होमिएका थिए। ०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भए।

त्यसपछि उनी ०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य र ०५४ मा उपसचिवको जिम्मेवारी पाए।

उनले ०५६ देखि ०६४ सम्म एमाले बैतडीको नै नेतृत्व सम्हाल्न पुगे। यसबीच उनले एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन्।

पाटन नगरपालिका–६, बैतडीका भण्डारीको जन्म २०३० कात्तिक २० गते भएको थियो। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

२०७९ मंसिरमा तत्कालीन माओवादी–कांग्रेसको गठबन्धनविरुद्ध एक्लै चुनावी प्रतिस्पर्धा गरेर तेस्रोपटक संसद्‍मा पुगेका एमाले नेता भण्डारीले उद्योग मन्त्रालयमा पनि तेस्रोपटक प्रवेश पाएका छन्।

०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएर भण्डारीले संसदीय यात्रा सुरू गरेका थिए। त्यसबेला उनले कांग्रेसका उम्मेदवार लोकराज अवस्थीलाई हराएका थिए।

०७४ मा पनि भण्डारीले कांग्रेस नेता नरबहादुर चन्दलाई हराए। यसबीच उनी अर्थ राज्यमन्त्री पनि भए।

०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने भण्डारी माओवादीका उम्मेदवार कुँवरसँग हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .